कैलाली, वैशाख २१ गते । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताउनुभएको छ । आज बर्दगोरिया कलेजको शैक्षिक तथा प्रशासनिक भवनको शिलान्यास गर्दै उहाँले सीमित स्रोतसाधनका बावजुद प्रदेश सरकारले गुणस्तरीय शिक्षामा जोड दिइरहेको बताउनुभयो ।
मुख्यमन्त्री शाहले प्रदेश सरकार शैक्षिक गुणस्तर सुधारका साथसाथै बेरोजगारी समस्या समाधानतर्फ उन्मुख रहेको बताउनुभयो । उहाँले हाल आधा किलोमिटर सडक दूरीभित्र कम्तीमा ९० प्रतिशत बालबालिका शिक्षाको पहुँचमा पुगेको बताउँदै बाँकी १० प्रतिशत बालबालिकालाई सडक सञ्जालसँग जोडेर दूरी घटाउनेतर्फ सरकार सक्रिय रहेको बताउनुभयो ।
कार्यक्रममा सामाजिक विकासमन्त्री मेघराज खड्का, बर्दगोरिया गाउँपालिकाका अध्यक्ष कर्ण कुँवर, पञ्चदेवल विनायक नगरपालिकाका नगरप्रमुख अम्बिका चलाउने, सामाजिक विकास सचिव डा हेमराज रेग्मीलगायत सहभागिता रहेको थियो ।
यहाँ सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा विनियोजन गरेको रु १० करोडको लागतमा भवन निर्माण सुरु भएको हो ।





