झापा, वैशाख १८ गते । मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा अलैँची निर्यात ४१ दशमलव ५८ प्रतिशतले बढेको छ । कार्यालयको तथ्याङ्कअनुसार उक्त अवधिमा रु १० अर्ब ७० करोड सात लाख १८ हजारबराबरको अलैँची निर्यात भएको हो ।
चालु आवको नौ महिनामा पाँच हजार २९५ दशमलव २५० मेट्रिक टन अलैँची निर्यात भएको मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँले जानकारी दिनुभयो । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु छ अर्ब २५ करोड १२ लाख ६१ हजार बराबरको अलैँची निर्यात भएको उहाँले बताउनुभयो ।
कार्यालयको तथ्याङ्कअनुसार चालु आवको नौ महिनामा चियाको निर्यात २६ दशमलव ७३ प्रतिशतले घटेको छ । उक्त अवधिमा रु दुई अर्ब ५८ करोड १९ लाख ८५ हजार मूल्यबराबरको चिया निर्यात भएको छ । अघिल्लो आव २०८१/८२ को सोही अवधिमा रु तीन अर्ब २७ करोड २० लाख ७२ हजारबराबरको चिया निर्यात भएको सूचना अधिकारी हुमागाईँले जानकारी दिनुभयो ।
कार्यालयका अनुसार निर्यात हुने मुख्य वस्तुमध्ये भेनियर सिट ३० दशमलव ८८ प्रतिशत, छुर्पी ३० दशमलव ३५ प्रतिशत वृद्धि भएको छ भने प्लाइउड ३७ दशमलव ७३ प्रतिशत, अम्रिसो ३७ दशमलव ३३ प्रतिशत, फलामे पाता एक हजार ७४७ दशमलव ८१ प्रतिशत र मोलासिस ३६१ दशमलव ३५ प्रतिशत र सिमेन्ट क्लिङ्करको निर्यात शतप्रतिशतले घटेको छ । मेची भन्साबाट चालु आव २०८२/८३ को चैत मसान्तसम्ममा रु १९ अर्ब ४३ करोड ३५ लाख ३२ हजारबराबरको मालवस्तु निर्यात भएको छ ।





