काठमाडौँ, वैशाख १८ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले बालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका पछिल्ला कदमहरू जनविरोधी र मजदुरविरोधी भएको टिप्पणी गर्नुभएको छ । नेता नेपालले कार्ल माक्र्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा वर्तमान सरकार जनताको संवैधानिक अधिकार खोस्नतिर लागेको भन्दै आलोचना गर्नुभएको हो ।
पूर्वप्रधानमन्त्री एवम् नेकपाका सहसंयोजकसमेत रहनुभए नेता नेपालले १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा वर्तमान सरकार गठन भएको १०० दिन पनि पूरा नहुँदै गलत बाटोमा हिँड्न थालेको भन्दै नसच्चिए कडा सङ्घर्षमा उत्रिने चेतावनी दिनुभयो ।
नेता नेपालले भन्नुभयो, ‘देश बनाउने चाहना छ भने त्यो सबैको साझा हुनुपर्छ । तथ्याङ्क नलिई र वैकल्पिक व्यवस्था नगरी सुकुम्बासीलाई हटाउने कार्य जायज छैन । सरकारले आफ्ना कदमहरू नसच्याए मजदूर वर्गले पुनः सङ्घर्षको नेतृत्व गर्नेछ ।’
नेता नेपालले सरकारले सुकुम्बासी समस्याको उचित विकल्प नखोजिकन दमन गरेको, ट्रेड युनियन अधिकारमाथि अङ्कुश लगाउन खोजेको र अध्यादेशमार्फत शासन गर्न खोजेकोमा आपत्ति जनाउनुभयो ।
कार्यक्रममा बोल्दै नेता नेपालले कार्ल माक्र्सको ‘विश्वका श्रमजीवीहरू एक होऔँ’ भन्ने उद्घोषलाई आत्मसात् गरी अघि बढ्न मजदुरहरूलाई आग्रह गर्दै देशमा बढ्दो बेरोजगारी र युवाहरूको निरन्तरको विदेश पलायनप्रति गम्भीर चिन्ता व्यक्त गर्नुभयो । सरकारले सुकुम्बासी, मजदुर, ट्रेड युनियन अधिकार, जनताको आवास र रोजगारीको अधिकारमाथि बेवास्ता गर्दै दमनको नीति लिएकोले यस्ता गलत कामको डटेर विरोध गर्न पार्टीसम्बद्ध मजदुर नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो । उहाँले मजदुर वर्गले समाजका सबै तहका समस्या बुझेर अबको परिवर्तनको नेतृत्व गर्नुपर्ने पनि उल्लेख गर्नुभयो ।





