काठमाडौँ, वैशाख १८ गते । अखिल नेपाल ट्रेड युनियन महासङ्घका अध्यक्ष जगतबहादुर सिंखडाले लोकप्रियतावादको नाममा श्रमिकका हक–अधिकार र ट्रेड युनियन आन्दोलनमाथि भइरहेको प्रहारविरुद्ध सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । १३७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) का अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिंखडालेयस्तो बताउनुभएको हो ।
नेपालको लोकतान्त्रिक आन्दोलनमा श्रमिक वर्गको रगत र पसिना बगेको स्मरण गर्दै अध्यक्ष सिंखडाले आज तिनै श्रमिकका झुपडीमाथि डोजर चलाउनु र ट्रेड युनियन अधिकारमाथि बन्देज लगाउन खोज्नु फासीवादी चिन्तन भएको आरोप लगाउनुभयो ।
पछिल्लो समय विकसित डिजिटल अर्थतन्त्र र ‘गिग इकोनोमी’का नाममा श्रमिकहरूलाई आधुनिक दास बनाउन खोजिएकोमा चिन्ता व्यक्त गर्दै उहाँले राइडर, अनलाइन भेन्डर र आउटसोर्सिङमा कार्यरत श्रमिकहरूलाई श्रम ऐनको दायराभन्दा बाहिर राखेर मालिक विहीन बनाउने खेल भइरहेको बताउनुभयो ।
अध्यक्ष सिंखडाले भन्नुभयो, ‘जुन वर्गले रगत बगाएर संघीय लोकतान्त्रिक गणतन्त्र ल्यायो, आज तिनै मजदुरका अधिकारमाथि दक्षिणपन्थी शक्तिहरूले लोकप्रियतावादको मुकुण्डो लगाएर डोजर चलाइरहेका छन् । जीडीपीमा २९ प्रतिशत योगदान पु¥याउने श्रमिकलाई राज्यले विदेशी मुद्रा छाप्ने मेसिन मात्र ठानेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको मुख्य रोजगारदाता स्वयं राज्य बन्नुपर्छ र उनीहरूको सुरक्षाको शतप्रतिशत जिम्मा सरकारले लिनुपर्छ ।’
अध्यक्ष सिंखडाले श्रम ऐनका मजदुरविरोधी दफाहरू खारेज गर्न सरकारसँग माग गर्दै विशेष गरी श्रम ऐनको दफा १४५ (कटौती), दफा १०९ (सरुवा), दफा ३९ (जगेडा) र दफा ५८ (आउटसोर्सिङ) लाई श्रमिकविरोधी भन्दै ती प्रावधानहरू तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो ।
अध्यक्ष सिंखडाले बढ्दो महँगी र पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण श्रमिकको न्युनतम ज्यालाले जीवन धान्न मुस्किल परेको उल्लेख गर्दै वैज्ञानिक ढङ्गले तलबभत्ता वृद्धि गर्न र श्रमिकका छोराछोरीका लागि गुणस्तरीय शिक्षा तथा स्वास्थ्यको ग्यारेन्टी गर्न राज्यसँग माग गर्नुभयो ।





