काठमाडौँ, वैशाख १८ गते । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले बुद्ध जयन्तीको अवसरमा दिनुभएको अभिव्यक्तिको प्रति उत्तर दिनुभएको छ । आज शुक्रबार बिहान बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री शाहले शुभकामना दिँदै ’साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ’ज्ञ’ ज्ञान हो’ भनेर दिनुभएको अभिव्यक्तिप्रति जवाफ फर्काउँदै जेनजी फ्रन्टकी संयोजक बमले साँचो क्रान्ति करुणाबाटै सुरु हुने बताउनुभएको हो ।


प्रधानमन्त्री शाहको उक्त भनाइलाई उद्धृत गर्दै संयोजक बमले लेख्नुभएको छ, ‘साँचो क्रान्ति ‘क’ बाटै सुरु हुन्छ प्रधानमन्त्रीज्यू, र त्यो ‘क’ करुणा हो ।’स्पष्ट र दीर्घकालीन व्यवस्थापनको योजनाबिना नै सरकारले काठमाडौंका खोला किनारका सुकुम्बासी बस्तीमा डोजर चलाइरहेको र उनीहरूलाई होल्डिङ सेन्टरमा राखेर बिचल्ली बनाएकोमा विरोध गर्दै आउनुभएकी बमले प्रधानमन्त्रीलाई करुणा देखाउन आग्रह गर्नुभएको छ ।

सुकुम्बासी बस्ती हटाउने सरकारको पछिल्लो कदमलाई लिएर चौतर्फी बहस भइरहेको बेला संयोजक बलमे राज्यको कदममा मानवीयता र करुणा नदेखिएको भन्दै प्रधानमन्त्रीको ज्ञानको भाष्यमाथि करुणाको वैचारिक प्रहार गर्नुभएको हो ।