काठमाडौँ, वैशाख १७ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत सर्गियो गोर तीन दिने औपचारिक भ्रमणका लागि आज काठमाडौं आउँदै हुनुहुन्छ । परराष्ट्र मन्त्रालयका अनुसार ट्रम्पका विशेष दूत गोर आज बिहिबार साँझ काठमाडौं प्रस्थान गर्ने हुनुभएको हो ।


यसअघि वैशाख ७ गते दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केको दुई साता नबित्दै ट्रम्पका विशेष दूत गोर नेपाल आउन लाग्नुभएको हो । बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएयता नेपाल भ्रमणमा आउने गोर सबैभन्दा उच्च तहका कूटनीतिज्ञ हुनुहुन्छ । ।

परराष्ट्र मन्त्रालयका अनुसार पहिलोपटक काठमाडौं आउन लाग्नुभएका गोरको नेपाल भ्रमण मुख्यतः व्यवसाय, लगानी र दुई देशका सरकारबीच सम्बन्ध विस्तार लगायतका विषयमा केन्द्रित हुने जनाएको छ । गोरले नेपाल बसाइको क्रममा राजनीतिक भेटघाट गर्ने भनिए पनि प्रधानमन्त्री शाहको कार्यव्यस्तताका कारण उहाँलाई भेट्ने÷नभेट्ने निश्चित भइनसकेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

ट्रम्पका विशेष दूत गोरले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।