बागलुङ, वैशाख ११ गते । दिगो पर्यटन प्रवद्र्धन परियोजनाले निसीखोला र ढोरपाटनमा १८ घरबास स्थापना र स्तरोन्नतिका लागि रु ४५ लाख अनुदान दिएको छ । ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यकाको पाखाथर सामुदायिक घरबास विस्तार गर्न र निसीखोला गाउँपालिकाको बुढाथोक गाउँको बुढाथोक नाखा सामुदायिक घरबास सञ्चालन गर्न रु दुई लाख ५० हजारका दरले अनुदान रकम प्रदान गरिएको हो ।

युवा उद्यमशीलता वृद्धि, महिलालाई आत्मनिर्भर बनाउने र व्यवस्थित रुपमा पर्यटकमैत्री घरबास सञ्चालन गर्न अनुदान दिइएको परियोजनाका प्रमुख अमर थापाले राससलाई बताउनुभयो ।

ढोरपाटन नगरपालिकामा २० र निसीखोला गाउँपालिकामा १० घरबास व्यवस्थित रुपमा सञ्चालनमा ल्याउने योजनाअनुसार अहिले निसीखोलाको चार घरमा बुढाथोक नाखा सामुदायिक घरबास र ढोरपाटन नगरपालिकास्थित पाखाथर सामुदायिक घरबासस्थित १४ घरलाई घरबास सञ्चालनका लागि अनुदान दिइएको उहाँले बताउनुभयो ।