वासिङ्टन, वैशाख ८ गते । आणविक संरचनामाथिको सैन्य हस्तक्षेपपछि उत्पन्न अवस्था र युरेनियम पुनःप्राप्तिको जटिलताले अमेरिका–इरानबीचको रणनीतिक द्वन्द्व अझै लम्बिने सङ्केत देखिएको छ । इरानको आणविक संरचनामाथि गरिएको अमेरिकी आक्रमणपछि त्यहाँको समृद्ध युरेनियम पुनः प्राप्त गर्नु जटिल र दीर्घ प्रक्रिया हुने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताउनुभएको छ । उहाँको यो अभिव्यक्तिले इरानको आणविक कार्यक्रममाथि जारी तनावबीच थप अनिश्चितता र रणनीतिक चुनौती उजागर गरेको छ ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममार्फत ‘अपरेसन मिडनाइट ह्यामर’ लाई इरानका आणविक स्थलहरूको पूर्ण विनाशको रूपमा चित्रण गर्नुभयो । उहाँका अनुसार ती संरचनाहरू ध्वस्त पारिएपछि त्यहाँ रहेको सामग्री पुनः उत्खनन गर्नु अब ‘लामो र गाह्रो प्रक्रिया’ बन्न पुगेको छ ।
अमेरिकी राष्ट्रपतिले इरानको समृद्ध युरेनियमलाई जनाउन ‘आणविक धुलो’ भन्ने शब्द बारम्बार प्रयोग गर्दै आउनुभएको छ । यो शब्दावलीले तेहरानले आणविक हतियार निर्माणका लागि युरेनियम भण्डारण गरिरहेको भन्दै अमेरिकाले इरानमाथि लगाउँदै आएको आरोपलाई सङ्केत गर्छ । साथै, उहाँले कहिलेकाहीँ गत वर्ष जुनमा इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी बम आक्रमणपछि बाँकी रहेको अवशेषलाई पनि यही शब्दबाट व्याख्या गर्ने गर्नुभएको छ ।
इरानले भने आफ्नो युरेनियम भण्डार हस्तान्तरण गर्ने कुनै योजना नरहेको स्पष्ट पारिसकेको छ । तर ट्रम्पले अन्ततः उक्त भण्डार अमेरिकी नियन्त्रणमा आउने दाबी दोहोर्याउनुभएको छ ।
इरानको आणविक कार्यक्रमलाई इजरायलले ‘अस्तित्वकै खतरा’ का रूपमा व्याख्या गर्दै आएको छ । यही सन्दर्भमा संयुक्त राज्य अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि संयुक्त सैन्य आक्रमण सुरु गरेका थिए । उक्त आक्रमणले क्षेत्रीय तनावलाई तीव्र बनाएको थियो ।
इजरायली अधिकारीहरूका अनुसार गत वर्ष जुनमा १२ दिनसम्म चलेको युद्धपछि इरानले आफ्नो आणविक हतियार कार्यक्रमलाई अझ तीव्र बनाउने प्रयास गरेको थियो । सो युद्ध इजरायलको पहलमा सुरु भएको थियो, जसमा अमेरिकाले समेत सहभागिता जनाउँदै इरानका तीनवटा प्रमुख आणविक केन्द्रहरूमा बम आक्रमण गरेको थियो ।







