काठमाडौँ, वैशाख ६ गते । नेपाल रेडक्रस सोसाइटीले चार तहको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । सोसाइटीले पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

सोसाइटीका महामन्त्री मीनबहादुर मल्लका अनुसार केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी असार २४ र २५ गते तोकिएको छ । यसैगरी, सोसाइटीले पहिलो चरणमा यही वैशाख २६ देखि जेठ ४ गतेसम्म देशैभरका पालिका शाखा समितिको निर्वाचन सम्पन्न गर्नेगरी कार्यतालिका तय गरेको छ ।  जेठ १५ गते  जिल्ला शाखा समिति र असार २ गते सात वटै प्रदेश समिति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । 

नेपाल रेडक्रस सोसाइटीले संस्थाको विधान २०२० (अठारौँ संशोधन, २०८२ सहित) तथा निर्वाचन नियमावली, २०४९ (चौथो संशोधन २०८२ सहित) सबै पालिकास्तरमा पालिका शाखा, जिल्ला, प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्नेगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको सोसाइटीका महामन्त्री मल्लले जानकारी दिनुभयो । 

सरकारले सधैँ विवाद हुँदै आएको सोसाइटीमा यसपटक विनोदकुमार शर्माको नेतृत्वमा केन्द्रीय तदर्थ समिति गठन गरी पालिका, जिल्ला, प्रदेश र केन्द्रको निर्वाचन गर्ने कार्यभार तोकेको थियो । सोही कार्यभारअनुसार सोसाइटीका सबै निकायको निर्वाचन गर्ने तयारीमा रहेको महामन्त्री मल्लले बताउनुभयो । रेडक्रस सोसाइटीको संशोधित नयाँ विधानमा एक व्यक्ति दुई कार्यकालभन्दा बढी पटक कार्यसमितिमा बस्न नपाइने नयाँ व्यवस्था गरेको छ ।