काठमाडौँ, वैशाख ६ गते । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारले देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पविना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ । नेकपाले आज आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै सरकारको कदमलार्ई अमानवीय’ भएकोमा विरोध जनाउँदै सो कार्य तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न माग गरेको हो ।

नेकपा केन्द्रीय कार्यालयको तर्फबाट गणेमान पुनले जारी गर्नुभएको विज्ञप्तिमा सुकुम्बासीका झुप्रा भत्काउने कार्य तत्काल रोक्न र उनीहरुलाई पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ । विज्ञप्तिमा सुकुम्वासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘समुचित पुनर्वासको व्यवस्था नगरी यस्ता कार्य नगर्न सरकारसमक्ष आग्रह गर्दछौँ ।’ यसैबिच, नयाँ सरकार गठन लगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न नेकपाले माग गरेको छ ।

पार्टीले विद्यार्थी सङ्गठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधान विपरीत र अस्वीकार्य ठहर गर्दै पञ्चायती व्यवस्थाको समयमा समेत उपभोग गरिएको सङ्गठित हुने अधिकार सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा खोस्ने प्रयास भएको भन्दै यसप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

साथै, विज्ञप्तिमा ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने प्रयासले संवैधानिक अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि–सम्झौताको उल्लङ्घन हुने उल्लेख गरिएको छ । नेकपाले वर्तमान सरकारप्रति जनताले सुशासन, सामाजिक न्याय र समृद्धिको अपेक्षा गरेको उल्लेख गर्दै पार्टीले सकारात्मक कार्यक्रमहरूलाई स्वागत गरेको तर शासन सञ्चालन र संसदीय अभ्यासमा देखिएको पूर्वाग्रही र एकपक्षीय प्रवृत्तिले चिन्ता बढाएको जनाएको छ ।


678106659_2536756293406737_1525314207935235724_n