
फाइल तस्वीर
काठमाडौँ, वैशाख ६, गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कसैले पनि राप्रपा सिध्याइन्छ भन्ने सपना नदेख्न चेतावनी दिनुभएको छ । अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा पार्टीको भविष्य नसकिने र हिन्दु राष्ट्रको एजेण्डाबाट पछि नहट्ने बताउनुभएको हो ।
निर्वाचनमा हार्दैमा राप्रपाको भविष्य नसकिने र अब आफ्नो सारा गल्ती कमी कमजोरीहरुलाई सच्याएर पुनर्गठित भएर उठ्ने भन्दै अध्यक्ष लिङ्देनले आज आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत् लेख सार्वजनिक गर्नुभएको हो ।
पार्टी महामन्त्री धवलशम्शेर राणाले दिएको अभिव्यक्तितर्फ सङ्केत गर्दै अध्यक्ष लिङ्देनले चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य नसकिने जिकिर गर्नुभएको छ ।
अध्यक्ष लिङ्देनले आज आइतबार बिहान सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘राप्रपा सिद्धिन्छ, सकिन्छ वा सिध्याइन्छ भन्ने सपना कसैले नदेखे हुन्छ । मजस्ता असङ्ख्यको रगत पसिना र बैँस खर्चेर बनेको यो राप्रपाले चुनाव पो हारेको हो त, चुनाव हार्दैमा कुनै पनि राजनीतिक पार्टीको भविष्य सकिँदैन । न, त राप्रपा अभिभावकीय राजसंस्था, सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, आर्थिक रूपले मात्र होइन, प्रशासनिक दृष्टिकोणले समेत झन्झटिलो र बोझिलो प्रदेश संरचना सम्बन्धित आफ्नो अवधारणाबाट पछाडि फर्किन्छ । आफ्नो सारा गल्ती कमीकमजोरीहरू सच्याएर राप्रपा पुनर्गठित भएर उठ्नेछ ।’







