नुवाकोट, वैशाख ६ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको नाममा भ्रामक तथा गैरजिम्मेवार सामग्री सम्प्रेषण नगर्न सञ्चारमाध्यम एवम् सामाजिक सञ्जाल प्रयोगकर्तालाई आग्रह गर्नुभएको छ । आज यहाँ विदुर नगरपालिकाको बट्टारमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले सञ्चार जगत्ले जिम्मेवार एवम् आत्मअनुशासित भएर काम गर्नुपर्ने बताउनुभयो । राज्यको चौथो अङ्गका रूपमा रहेको सञ्चार जगत् विधिविधान र आचारसंहिता परिपालनामा गम्भीर हुनुपर्ने मन्त्री तिमिल्सिनाको भनाइ थियो ।

“सामाजिक सञ्जालमा मात्र नभै सञ्चार जगत्ले सम्प्रेषण गर्ने सामग्रीमा पनि केही समस्या छन् । यदि यस्ता कुरामा कडाई गर्न थाल्यौँ भने फेरि अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाइयो भनेर सञ्चारमाध्याम नै आवाज उठाउन थाल्छन्”, उहाँले भन्नुभयो,“यी सबै समस्या कारबाहीबाट समाधान गरिनुपर्छ भन्ने पक्षमा सरकार छैन । तपाईंहरू आफँै स्वनियमन र आचारसंहिताको पूर्णपालनामा केन्द्रित हुनुहोला ।”

सञ्चारमन्त्री डा तिमिल्सिनाले समाचारले पार्ने प्रभावको बहुआयामिक विश्लेषण गर्न पनि आग्रह गर्नुभयो । “भ्रमको आयु छोटो हुन्छ, तर त्यसले पार्ने क्षति गम्भीर हुनसक्छ । त्यसैले अपुष्ट सूचनाबाट सञ्चारमाध्याम सचेत हुन जरूरी छ”, उहाँको भनाइ थियो । 

सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारले पूर्ण प्रेस स्वतन्त्रता तथा व्यावसायिक पत्रकारितालाई प्रवर्द्धन गर्दै श्रमजीवि पत्रकारको हितमा काम गर्ने बताउनुभयो । उहाँले विज्ञापन तथा सूचना प्रकाशन/प्रसारणमा पारदर्शीता ल्याउन, मितव्ययिता कायम गर्न र सरकारी सञ्चारमाध्यमको प्रवर्द्धनका लागि विज्ञापन नीतिमा केही नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको उल्लेख गर्नुभयो ।

“सरकारले आफ्ना सूचना तथा जानकारी सरकारी सञ्चारमाध्यामबाट मात्रै सम्प्रेषण गर्ने विषय पारदर्शिताको प्रश्नसँग जोडिएको छ । यसमा तमाम समस्या छन् र अनियमितता भएको छ भनेर पत्रकारिता क्षेत्रबाटै उठाइएका विषय हुन्”, सञ्चारमन्त्री डा तिमिल्सिनाले भन्नुभयो,“संस्थागत रूपमा सुशासन कायम गर्ने दायित्व सञ्चारजगत्को पनि उत्तिकै रहेकाले श्रमजीवि पत्रकार र व्यावसायिक सञ्चारको संरक्षणमा सरकार प्रतिबद्ध छ ।”

उहाँले सञ्चारमाध्यम बलियो नभए सरकार पनि बलियो नहुने उल्लेख गर्दै सञ्चारमाध्यम जिम्मेवार नभएसम्म सरकारलाई पनि जिम्मेवार बनाउन कठिन हुने धारणा राख्नुभयो । सञ्चारमन्त्री डा तिमिल्सिनाले सरकारी सञ्चारमाध्यमलाई थप जिम्मेवार र व्यावसायिक बनाउन पहल भइरहेको उल्लेख गर्दै समाधानमुखी र तथ्यमा आधारित पत्रकारितामा जोड दिनुभयो । उहाँले विधिको पालना गर्दै सरकार जनताप्रति उत्तरदायी भएर काम गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।

“नागरिकको करबाट सञ्चालित स्रोतको दुरुपयोग रोक्न सरकार गम्भीर छ । सरकारले काम र नतिजामार्फत जनतालाई जवाफ दिन्छ । हल्ला र अफवाहमा नभई सरकारले नीति र परिणाममा विश्वास गर्छ”, उहाँले भन्नुभयो,“वर्तमान सरकार गठन भएको तीन हप्ता मात्र भएको छ । यस अवधिमा नागरिकका अपेक्षा र आवश्यकता बुझेर काम अघि बढाइएको छ । निर्वाचनका क्रममा जनताले के चाहिरहेका छन् भन्ने हामीले बुझेका छौँ, हाल त्यहीअनुसार काम भइरहेको छ ।”

विगतमा जनताका प्रश्नको उत्तर समयमै नदिइएका कारण हरेक नागरिकमा आशाको अभाव देखिएको उल्लेख गर्दै मन्त्री डा तिमिल्सिनाले हाल काममार्फत त्यसको उत्तर दिने प्रयास भइरहेको बताउनुभयो । “सहज सेवा प्रवाह, सुशासन, विकास निर्माणलगायत क्षेत्रका समस्या स्रोत–साधनको अभावले मात्र होइन, कार्यशैली र प्रतिबद्धताको कमीले पनि देखिएका थिए । यिनै समस्या चिर्ने काम सरकारले गरिरहेको छ”, उहाँले भन्नुभयो ।

सरकारले सुशासन कायम गर्ने र प्रभावकारी सेवा प्रवाह गर्ने जनादेश पाएकाले सोहीअनुसार आफूहरूले काम गर्ने र कुनै समस्या भए निरन्तर खबरदारी र निगरानी राख्न पनि उहाँले आग्रह गर्नुभयो । “सरकारलाई सत्यमा आधारित प्रश्न गर्नुहोस् । समस्या देखिएका ठाउँमा गाँठो फुकाउन दबाब दिनुहोस् र समस्या समाधान कसरी गर्न सकिन्छ भनेर सुझाव दिनुस्, त्यसलाई सहर्ष स्वीकार्छौं”, सञ्चारमन्त्री तिमिल्सिनाले भन्नुभयो,“तथापि, सामाजिक सञ्जालमा फैलाइने भ्रामक सूचनाले कसैलाई फाइदा गर्दैन । यसमा सबै सचेत बनौँ ।”

सेवा प्रवाहलाई सहज बनाउन सूचना र प्रविधिको अधिकतम् प्रयोग गर्ने सरकारको योजना रहेको पनि उहाँले जानकारी दिनुभयो । मन्त्री तिमिल्सिनाले युवा विदेशिने बाध्यता अन्त्य गर्न मुलुकभित्रको वातावरण सुधार्ने, देशलाई बस्न योग्य बनाउने र अवसर सिर्जना गर्ने लक्ष्यसहित काम भइरहेको उल्लेख गर्नुभयो । काम गर्ने क्रममा समस्या आउन सक्ने स्वीकार्दै उहाँले नियत सही भए प्रक्रियागत रूपमा समाधान गर्न सकिने बताउनुभयो ।

मन्त्री तिमिल्सिनाले केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय र सहकार्यलाई प्राथमिकता दिइने उल्लेख गर्दै बुझाइमा केही समस्या भए पनि सेवा प्रवाहमा असर पर्न नदिने प्रतिबद्धता जनाउनुभयो ।