बेनी, वैशाख ६ गते । म्याग्दीको प्रदेश अस्पताल बेनीमा आपत्कालीन उद्धार तथा उपचार व्यवस्थापनसम्बन्धी कृत्रिम अभ्यास प्रदर्शन गरिएको छ । आज बिहान १०:३० बजे पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको बस बेनी-गलेश्वर सडकखण्डमा दुर्घटना भएको परिकल्पना गर्दै अस्पतालको आपत्कालीन उपचार दिने क्षमता र अवस्थाको जाँच गरिएको हो ।
बस दुर्घटनाको जानकारीअनुसार सुरक्षाकर्मी तत्काल घटनास्थलमा पुगेर घाइतेको उद्धार गरी अस्पताल ल्याएका थिए । दुर्घटनाको सूचना प्राप्त हुनासाथ अस्पतालले साइरन बजाएर चिकित्सकसहित उपचारका लागि आवश्यक सम्पूर्ण जनशक्ति तयारी गरेको थियो ।
एम्बुलेन्समार्फत घाइतेलाई अस्पताल ल्याइने बित्तिकै चिकित्सकले बिरामीको अवस्था मूल्याङ्कन गर्दै सामान्य, जटिल र गम्भीर गरी वर्गीकरण गरी बिरामीलाई पहेँलो, नीलो र रातो समूह कक्षमा राखेर प्राथमिकताका आधारमा उपचार अघि बढाइएको थियो । त्यस क्रममा अस्पतालमा कार्यरत चिकित्सक र नर्सहरू उपचारमा खटिएका थिए भने सुरक्षाकर्मीले बिरामी स्थानान्तरणमा सहयोग गरेका थिए ।
घाइतेको प्राथमिक उपचार, एक्स-रे, औषधोपचारलगायतसँगै अभ्यासका क्रममा घटनास्थलमा मृत्यु भएका एक जनालाई शवगृहमा पठाइएको र गम्भीर अवस्थाका दुई जनालाई थप उपचारका लागि पोखरा ‘रिफर’ गरिएको परिदृश्य प्रस्तुत गरिएको बेनी अस्पतालका सूचना अधिकारी झरना श्रेष्ठले जानकारी दिनुभयो ।
दुर्घटनामा परेकामध्ये सामान्य अवस्थाका बिरामीलाई उपचारपछि घर फर्काइएको र केहीलाई भर्ना गरेर राखिएको दुश्य उक्त क्रममा प्रस्तुत गरिएको थियो । दुर्घटना र प्राकृतिक विपद्को समयमा एकै पटक धेरै जटिल समस्या भएका बिरामी एकै पटक आउँदा अस्पतालले कसरी उपचार गर्छ भन्ने वास्तविकता पत्ता लगाउनका लागि कृत्रिम दुर्घटनाको उद्धार र उपचारको अभ्यास गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्त बास्तोलाले जानकारी दिनुभयो ।
उहाँले यस कार्यक्रमले उद्धारमा प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका साथै एम्बुलेन्स सेवाको प्रभावकारिता तथा अस्पतालमा अकस्मिक उपचारको व्यवस्थापनमा रहेका कमीकमजोरी पत्ता लाग्ने र सुधारमा रचनात्मक सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
आकस्मिक अवस्थामा प्रभावकारी रूपमा सेवा प्रवाह गर्न सकिने क्षमताको परीक्षणका साथै दुर्घटनापछि तत्काल उद्धार तथा उपचार प्रक्रियालाई व्यवस्थित बनाउने उद्देश्यले यस्तो अभ्यास सञ्चालन गरिएको अस्पतालले जनाएको छ ।







