काठमाडौँ, वैशाख ५ गते । नेपाली काङ्ग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो खेमाका पूर्वकेन्द्रीय सदस्यहरुको बैठक आह्वान गर्नुभएको छ । हिजो शुक्रबार सर्वोच्च अदालतले काङ्ग्रेसको विशेष महाधिवेशनबाट सभापति गगनकुमार थापाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने फैसला गरेसँग पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफ्नो खेमाका सदस्यहरूको बैठक बोलाउनुभएको हो ।
खड्का खेमाका काङ्ग्रेसको बैठक भोलि आइतबार मध्यान्न १२ बजे बस्ने धुम्बाराहीस्थित स्मार्ट होटलमा बस्ने भएको छ । खड्काले आज शनिबार आफ्नो पक्षका निवर्तमान पदाधिकारीहरूसँग कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्नुभएको थियो । भोलि हुने बैठकमा पार्टी भित्रै रहेर आगामी १५ औँ महाधिवेशनको तयारी गर्ने कि अलग बाटो रोज्ने भन्ने विषयमा छलफल हुने बताइएको छ ।
पूर्वकार्यवाहक सभापति खड्का निकटका केही नेताहरुले सर्वोच्चको फैसलालाई अस्वीकार गर्ने भन्दै अलग पार्टी दर्ता गरेर जानुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
यता पार्टी सभापति गगनकुमार थापाले पार्टीलाई अब एक ढिक्का भएर अगाडि लानु पर्नेमा जोड दिनुभएको छ । तर खड्का खेमामा रहेका केही सिनियर नेताहरुले अगल पार्टी खोलेर जानुपर्छ भनेका छन् भने केहीले पार्टीभित्र बसेर विवादलाई समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।







