पूर्वमन्त्रीद्वय रामेश्वरराय यादव र शेरबहादुर कुँवर ।
काठमाडौँ, मङ्सिर ३ गते। वैदेशिक रोजगारीमा जाने श्रमिकसँगको ठगी प्रकरणमा पक्राउ परेको दुई पूर्वमन्त्रीसहित छ जनालाई थप ४ दिन थुनामा राख्न अदालतले म्याद थप गरेको छ । तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादवसहित श्रम मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुङ्गाना र राजीव पोखरेलका साथै तत्कालीन कानून अधिकृत निर्मला गुरुङलाई अनुसन्धान गर्न थप ४ दिनको म्याद थप गरिएको हो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रवक्ता अनुपम शमशेर जबराका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीका आधारमा उनीहरूलाई हिजो बुधबार काठमाडौँ, ललितपुर र सर्लाहीका विभिन्न स्थानबाट पक्राउ गरेको थियो । जिल्ला अदालत काठमाडौँबाट हिजो मङ्सिर २ गते पक्राउ पुर्जी जारी गर्ने अनुमति लिएपछि तत्काल उनीहरुलाई सीआईवीले पक्राउ गरेको हो । पूर्व दुईमन्त्रीसहित छ जनामाथि नै ठगी तथा सङ्गठित अपराध निवारण ऐन, २०७० अन्तर्गत सीआईवीले अनुसन्धान गरिरहेको छ ।
सीआईवीका अनुसार मलेसिया सरकार र नेपाल सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा सङ्कलन गरिएको रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय गरिएको थियो ।
सङ्गठित रुपमा श्रमिकलाई ठगी गरी सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्र नाघ्दै विदेशी मुद्रा अपचलन गराउने निर्णयमा पूर्वमन्त्रीसहितको संलग्नता रहेको प्रहरीको आरोप छ । गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईवीले जनाएको छ ।





