काठमाडौँ, मङसिर ३ गते । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) बाट स्थानीय तहका विभिन्न पदमा निर्वाचित १८ जनप्रतिनिधिको पद रिक्त भएको जनाएको छ । जसपा नेपालबाट निर्वाचित ती जनप्रतिनिधिहरुले दल त्यागेपछि जसपा नेपालले कारवाही प्रक्रिया अघि बढाउँदै निर्वाचन आयोगलाई पत्रमार्फत् कारवाही गरिएको जानकारी गराएपछि निर्वाचन आयोगले पद रिक्त भएको सूचना प्रकाशित गरेको हो ।

आयोगले प्रकाशित गरेको सूचना अनुसार जसपा नेपालले २०७९ सालको स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले पार्टीको नीति, सिद्धान्त तथा निर्णयविपरीत कार्य गरी दल त्याग गरेको जानकारी आयोगलाई दिएको थियो । सोही आधारमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ३२ को उपदफा (१) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को नियम २२ को उपनियम (२) बमोजिम पद रिक्त भएको सूचना प्रकाशन गरिएको आयोगले स्पष्ट पारेको छ।

पद रिक्त हुनेमध्ये मधेश प्रदेशका ५ र कोशी प्रदेशका १३ जना जनप्रतिनिधि छन्। आयोगले सार्वजनिक गरेको सूचना अनुसार अनुसार पद रिक्त भएका जनप्रतिनिधिहरूमा लहान नगरपालिका सिराहाका उपप्रमुख राम चरितर महतो, सखुवानान्कारकट्टी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष रमेश कुमार यादव र धनगढीमाई नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष विजय कुमार महतो रहेका छन् भने पर्सा जिल्लास्थित कालिकामाई गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष लालबाबु राउत बरै र सोही गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष सञ्जय कुमार पटेल, खोटाङ्ग जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई र केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरु राज राई रहेका छन् ।

यसैगरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरकार्यपालिका सदस्य विरेन्द्रकुमार दर्नाल सहित सोही नगरपालिका वडा नं. १० का वडा अध्यक्ष मुगा धन राई, वडा महिला सदस्य कल्पना राई, वडा दलित महिला सदस्य गिता वि.क.तथा वडा सदस्यद्वय रामधन राई र शहर मनी राई, इलाम माङसेबुङ गाउँपालिकाका उपाध्यक्ष विनोद कुमार नेम्वाङ्ग र सन्दकपुर गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष ढाल बहादुर गुरुङ्ग, भोजपुर टेम्केमैयुङ गाउँपालिका वडा नं २ का वडा अध्यक्ष बाल चन्द्र राई, उदयपुर लिम्चुङबुङ गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष छत्र बहादुर राई रहेका छन् ।