काठमाडौँ, मङ्सिर ३ गते । काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज दोस्रो क्वालिफायरमा फाइनल प्रवेशका लागि चितवन राइनोज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज दिउँसो साढे ४ बजे यी दुई टीमबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्स लुम्बिनी लायन्ससँग ६ विकेटले पराजित भएको थियो । सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य लुम्बिनीले २० बल अगावै ४ विकेट गुमाएर फाइनल यात्रा सुरक्षित गरेको थियो ।
यता चितवन राइनोजले इलिमिनेटर चरणमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान पक्का गरेको हो । हिजो बुधबार भएको इलिमिनेटर खेलमा चितवन राइनोजले काठमाडौँ गोर्खाजलाई ६१ रनले पराजित गरेको थियो । यो हारसँगै काठमाडौँ प्रतियोगिताबाट बाहिरिएको छ भने चितवन राइनोले आज खेलिने दोस्रो क्वालिफायरमा सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्न अवसर पाएको छ ।
दोस्रो क्वालिफायर खेलको विजेताले पर्सी शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ ।





