काठमाडौँ, मङ्सिर १ गते । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले विश्वका विभिन्न मुलुकका विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग शैक्षिक सहकार्य विस्तार गर्न ‘कन्ट्री फोकल पर्सन’ नियुक्तिका लागि आवेदन माग गरेको छ । सो विश्वविद्यालयको उपकुलपतिबाट नियुक्त हुने प्रावधानसहित अन्तरराष्ट्रिय सम्बन्ध केन्द्रले स्थायी प्राध्यापकहरूबाट सो जिम्मेवारीमा नियुक्त गर्ने प्रक्रियाअन्तर्गत आशयपत्र माग गरेको हो ।
सो भूमिकामा नियुक्त हुने प्राध्यापकको सम्बन्धित देशका विश्वविद्यालयसँग भएका पुराना सम्झौतालाई सक्रिय बनाउने, संयुक्त अनुसन्धान तथा विद्यार्थी–प्राध्यापक आदानप्रदान प्रर्वद्धन गर्ने, अनुसन्धानका लागि आर्थिक स्रोत खोज्ने र विदेशी विद्यार्थीलाई त्रिविमा आकर्षित गर्न सहजीकरण गर्ने जिम्मेवारी तोकिएको छ ।
त्रिविका अनुसार आगामी मङ्सिर १० गतेसम्म अनलाइनमार्फत आवेदन दिनसक्ने जानकारीसहित आवेदकको अन्तरराष्ट्रिय अनुभव, व्यक्तिगत विवरण र आगामी दुई वर्षको ठोस कार्ययोजना संलग्न हुनुपर्ने छ ।
यसै सन्दर्भमा आवेदक प्राध्यापकहरूमध्येबाट अन्तरराष्ट्रिय अनुभव, सम्बन्धित देशसँगको पूर्वसम्पर्क र सहकार्य विस्तार गर्न सक्ने क्षमताका आधारमा ‘कन्ट्री फोकल पर्सन’ छनोट गरिने त्रिविले स्पष्ट गरेको छ ।





