ललितपुर, कात्तिक २८ गते । पूर्वप्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले काङ्ग्रेस जनताको त्याग र बलिदानबाट स्थापित पार्टी भएकाले कसैले आफ्नो स्वार्थअनुसार नियन्त्रण गर्न नसक्ने बताउनुभएको छ । काङ्ग्रेसको देउवा समूहको ललितपुरको महालक्ष्मीस्थानमा १५औँ नियमित जिल्ला अधिवेशनको उद्घाटन गर्दै सो धारणा व्यक्त गर्नुभएको हो ।
पूर्वसभापति देउवाले सो अवसरमा व्यक्तिगत पद र प्रतिष्ठाभन्दा देश, जनता र पार्टीप्रतिको जिम्मेवारी ठूलो भएको उल्लेख गर्दै आफूलाई अब कुनै पदको अपेक्षा नरहेको तर पार्टी तथा देशका लागि निरन्तर योगदान गर्ने बताउनुभयो ।
पूर्वसभापति देउवाले पार्टीको इतिहास र विरासतको सम्मान गर्दै एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिंदै पार्टीभित्रका विवाद र विशेष महाधिवेशनसम्बन्धी विषय विधि, विधान र न्यायिक प्रक्रियाबाट समाधान गर्नुपर्ने बताउनुभयो ।
पार्टीको १५औँ नियमित जिल्ला अधिवेशन कार्यक्रममा काङ्ग्रेस नेता मदनबहादुर अमात्य, राष्ट्रियसभा सदस्य जीतजङ्ग बस्नेत, बागमती प्रदेशका पूर्वमन्त्री उर्मिला केसी नेपाल र निवर्तमान क्षेत्रीय सभापति महेश्वर थापाले पार्टीको आन्तरिक एकता, नियमित महाधिवेशन र सक्षम नेतृत्व चयनमा जोड दिनुभएको थियो ।




