काठमाडौँ, कात्तिक १९ गते। काठमाडौँमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट अन्तर्गत आज दुई वटा खेलहरू हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार दिउँसो साढे १२ बजे पहिलो खेल हुने छ भने दोस्रो खेल अपरान्ह साढे ४ बजे हुने छ ।
आज हुने पहिलो खेलमा लुम्बिनी लाइन्सले जनकपुर बोल्ट्सको सामना गर्ने छ भने दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ ।
जारी संस्करणको अहिलेसम्मको नतिजा अनुसार लुम्बिनी लाइन्स लिग तालिकाको शीर्ष स्थानमा रहेको छ । उसले ३ खेल मध्ये २ मा जित र एक खेल वर्षाका कारण रद्द हुँदा बराबरी अङ्क बाँडेको छ । यता लुम्बिनीसँग प्रतिस्पर्धा गर्न लागेको जनकपुर बोल्ट्स भने ४ खेल खेलेकोमा २ मा जित र २ मा हार बेहोर्दै लिग तालिकाको चौथो स्थानमा छ ।
अपरान्हको समयमा हुने दोस्रो खोलमा प्रतिस्पर्धा गर्न उत्रिन लागेको विराटनगर किंग्स ४ खेल खेलेकोमा २ मा जित र २ मा हार व्यहोरेको छ । यद्यपि, विराटनगर तालिकाको दोस्रो स्थानमा छ । यता काठमाडाँै भने अङ्क तालिकाको सातौं स्थानमा छ । उसले २ खेल खेलेकोमा १ मा जित र १ मा हार बेहोरेको छ । यी दुवै टिम आजको खेल आफ्नो पक्षमा पार्न मैदानमा भिड्ने छन् ।




