नुवाकोट, असोज २८ गते । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पुनःस्थापनाको कामलाई प्राथमिकता दिनुपर्ने बताउनुभएको छ । नुवाकोटको विदुर नगरपालिका–५ पिपलटारस्थित ठूलोगाउँमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट)को पहलमा निर्माण गरिएका अस्थायी आवासको साचो बाढी प्रभावित परिवारलाई हस्तान्तरण गर्दै उहाँले प्रभावित नागरिकको जनजीवन सामान्य बनाउन र पुनर्निर्माणको काम अघि बढाउनुपर्ने बताउनुभयो ।
“बाढीबाट प्रभावित नागरिकको जनजीवन सामान्य बनाई पुनर्निर्माणमा लाग्नुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो, “त्यसका लागि प्रभावित नागरिकको अस्थायी आवास र जीविकोपार्जनसँगै रोजगारी तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन ध्यान दिनुपर्छ ।”
जिफन्टले निर्माण गरेका १८ वटा अस्थायी आवास रसुवामा भोटेकोशी बाढीबाट प्रभावित भई सुरक्षित बसोबासको खोजीमा नुवाकोट आएका परिवारलाई हस्तान्तरण गरिएको हो । प्रभावित परिवार बसोबासको लागि सुरक्षित स्थानको अभाव भएको भन्दै जिफन्टले ती भवन तयार गरेको हो ।
नेकपा ९एमाले० नुवाकोटका जिल्ला सचिव शिवकुमार चित्रकारका अनुसार स्थानीयको जग्गा भाडामा लिएर जिफन्टको आर्थिक सहयोग र श्रमदानमार्फत ती आवास निर्माण गरिएका हुन् । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, भग्नावशेष हटाउने, पुरिएका सामग्रीको खोजी गर्ने तथा राहत वितरणलगायत कार्यमा समेत जिफन्टले सघाएको थियो ।




