काठमाडौँ, असोज ११ गते । शिक्षा तथा खेलकुद मन्त्रालयले ‘नेपाल स्काउटसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’माथि रायसुझाव उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको छ । नेपाल स्काउट विश्व स्काउटका सदस्य रहेकाले विश्व स्काउटका सिद्धान्त तथा मूल्यमान्यतासँग नेपालको मौलिक परम्परा र प्रचलित कानुनलाई समायोजन गर्दै नेपाल स्काउटमार्फत बालबालिका तथा युवालाई विश्व स्काउटका सिद्धान्त र मान्यताअनुरूपको अभियानमा सहभागी गराउन विधेयक आवश्यक रहेको मन्त्रालयले जनाएको छ ।
बालबालिका तथा युवालाई शारीरिक र नैतिक रूपमा विकास गरी अनुशासित, जिम्मेवार र सेवा भावनाले अभिप्रेरित गराउँदै देश विकासका कार्यमा सहभागी गराउन नेपाल स्काउटलाई अझ सक्षम र सङ्गठित बनाउन आवश्यक भएकाले कानुन संशोधन तथा एकीकरण गर्नुपर्ने मन्त्रालयको भनाइ छ ।
नेपालको संविधानले सङ्घीय शासन प्रणाली अवलम्बन गरेअनुसार नेपाल स्काउटलाई पनि सङ्घीय ढाँचामा रूपान्तरण गरी सङ्घ, प्रदेश र स्थानीय तहमा यसको सञ्चालन तथा व्यवस्थापनमा स्पष्टता कायम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ । संविधानको भाग ६, राज्यका निर्देशक सिद्धान्त, नीति तथा दायित्वअन्तर्गत धारा ५१ का नीतिसँग सम्बन्धित विषयलाई ध्यानमा राखी नेपाल स्काउटसम्बन्धी ऐन तर्जुमा गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।
प्रस्तावित विधेयकले नेपाल स्काउटको सञ्चालन तथा व्यवस्थापनलाई व्यवस्थित गर्नुका साथै अन्तरराष्ट्रिय दायित्वसमेत पूरा गर्न सहयोग पुग्नेछ । विधायन ऐन, २०८१ को दफा (६) को (२) बमोजिम विधेयकलाई थप प्रभावकारी बनाउन आवश्यक राय, सुझाव तथा पृष्ठपोषण उपलब्ध गराउन सरोकार भएका निकायसँग आग्रह गरेको जनाइएको छ ।
मन्त्रालयले यही असोज ८ गते सार्वजनिक गरेको सूचनामा विधेयकको उद्देश्य, आवश्यकता तथा त्यसबाट पर्ने प्रभावका सम्बन्धमा १५ दिनभित्र सुझाव दिन सम्बन्धित व्यक्ति, संस्था तथा सरोकारवालालाई अनुरोध गरिएको छ ।




