बागमती, भदौ १५ गते । पठन संस्कृति हराउँदै गइरहेका अवस्थामा हेटौँडा उपमहानगरपालिका–२ सानोपोखरा स्थायी भई विगत केही वर्षदेखि पोखरा बस्दै आउनुभएका ८० वर्षीय वेदप्रकाश शर्माले पछिल्ला तीन वर्षमा तीन सयभन्दा बढी पुस्तकको अध्ययन गरिसक्नुभएको छ । उहाँलाई यी पुस्तक अध्ययन गर्ने अवसर भने पोखरा महानगरपालिका–२९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले जुराइ दिएको हो ।
हाल एक हजारको सङ्ख्यामा नियमित पाठक रहेको पुस्तकालय वेदप्रकाशजस्तै ज्येष्ठ नागरिकदेखि विद्यालय तथा क्याम्पसका विद्यार्थी र समाजका विभिन्न पेसा व्यवसायमा आबद्ध व्यक्तिको पढ्ने गन्तव्य बनेको हो ।
शर्माको पुस्तक अध्ययनप्रतिको आकर्षण युवापुस्ताका लागि पनि प्रेरक बनिरहेको पुस्तकालयका कोषाध्यक्ष माधव भण्डारीले बताउनुभयो । उहाँजस्तै विभिन्न उमेर समूहका पाठक पुस्तकालयमा आउने गरेको उल्लेख गर्दै भण्डारीले यसले समाजमा पठन संस्कृति बढाउने अभियानलाई प्रभावकारी बनाइरहेको बताउनुभयो ।
पठन संस्कृतिकै विकासलाई लक्षित गरी पुस्तकालयले इलाका प्रहरी कार्यालय, डाँडाको नाकमा त्यहाँ विभिन्न कसुरको अनुसन्धानका क्रममा रहने थुनुवालाई समेत पढ्ने व्यवस्था मिलाइ रहेको छ । “केही समयदेखि डाँडाको नाकस्थित इलाका प्रहरी कार्यालयमा त्यहाँका थुनुवाका लागि समेत पढ्नका लागि पुस्तक उपलब्ध गराउँदै आएका छौा”, उहाँले भन्नुभयो, “हाम्रो यस प्रयासले थुनुवा कैदीमा समेत सकारात्मक प्रभाव पारिरहेको पृष्ठपोषण प्राप्त भएको छ ।”
पुस्तकालयका नियमित अध्येता शर्माका अनुसार पढ्ने बानीको विकासले आफ्नो व्यक्तित्व विकाससँगै त्यसले सकारात्मक सोच जागृत गराउँछ । आफूले विगत तीन वर्षयता दीपशिखा पुस्तकालयबाट तीन सयभन्दा बढीको सङ्ख्यामा पुस्तक लगेर आद्योपान्त पढ्ने अवसर पाएको बताउनुभयो ।
यस अवधिमा पढेकामध्ये तोर्किनको मुस्ताङे कसरी बोल्छन्, प्रेमचन्दको गवन, अमृता पृतमको ऐतिहासिक कहानीया, सुधीर शर्माको हिमाल पारिको हुरी र भिक्षु, व्यापार, विद्रोह, रमेश भुसालको छाल बाटो (कैलाशदेखि गङ्गासम्म), गोविन्द्रप्रसाद कुसुमको भृकुटी, मोहन मैनालीको मुकाम रण मैदानजस्ता पुस्त धेरै मनपराएको उहाँले अनुभव सुनाउनुभयो । दीपशिखा पुस्तकालयमा हिन्दी भाषाका लेखक तथा साहित्यका पुस्तक थप्नुपर्ने उहाँको सुझाव छ ।
यसअघि पनि विभिन्न सेवा, पेसा र व्यवसायमा रहँदा समेत पुस्तकालयको उपयोग गर्ने गरेको बताउँदै उहाँले विसं २०२६/२७ तिर हेटौँडाको मेनरोडमा रहेको जन पुस्तकालय, भुटनदेवी हाइस्कुल नजिकै रहेको हाम्रो पुस्तकालयमा धेरै पुस्तकहरू पढेको बताउनुभयो ।
पछिल्ला पुस्तामा पुस्तक पढ्नभन्दा पनि मोबाइल हेर्ने मोह बढिरहेको बताउँदै उहाँले मोबाइल मोहलाई कम गराउँदै पुस्तक पढ्ने बानीको विकास गराउनु अपरिहार्य भएको धारणा राख्नुभयो ।
दीपशिखा पुस्तकालयले नियमित पाठकका लागि हरेक १५/१५ दिनमा दुई/दुई वटा पुस्तक घरमा लगेर पनि पढ्न सक्ने व्यवस्था मिलाएको कर्मचारी माया गुरुङ बताउनुहुन्छ ।
पुस्तक धेरै सङ्ख्यामा छोटो समयमा पढ्ने भएकाले ८० वर्षीय शर्मालाई भने १५/१५ दिनमा चार/चार वटाको सङ्ख्यामा पुस्तक पढ्नका लागि दिने गरिएको गुरुङले जानकारी दिनुभयो ।
समुदायको सक्रियतामा विसं २०५८ मा वाचनालयका रूपमा स्थापित भई पछि यसलाई पुस्तकालयका रूपमा विकास गरिएको पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारी बताउनुहुन्छ । पुस्तकालयमा विभिन्न कक्ष तयार गरिएको र ती कक्षमा दिनानुदिन विद्यार्थी तथा पाठक आउने गरेको उहाँले जानकारी दिनुभयो ।
पुस्तकालयमा रहेको बालकक्षमा बालबालिकालाई बाल मनोवैज्ञानिक प्रविधिबाट सिक्न सक्ने तवरबाट खेलौना लगायतका सामान राखिएका छन् । पुस्तकालयले कथा, चित्रकला, खेलकुद र हाजिरी जवाफ प्रतियोगितासमेत समय–समयमा गर्दै आइएको छ । हरेक वर्ष भानु जयन्ती, पुस्कालय दिवस जस्ता अवसर पारी विद्यालय स्तरीय रामायाण वाचन, निबन्ध लेखन आदि प्रतियोगिता पनि सञ्चालन गर्दै आइएको लाइब्रेरियन धनु पहारीले जानकारी दिनुभयो ।
पुस्तकालयमा विभिन्न क्षेत्र र विषयका १० हजारभन्दा बढी पुस्तक रहेको र एक हजारभन्दा बढी पाठक रहेका छन् । पुस्तकालयमा हरेक दिन ५० भन्दा बढी पाठकहरूले नियमित अध्ययन गरिरहेको पुस्तकालयले जनाएको छ ।
अध्यक्ष भण्डारीका अनुसार विद्यालय, क्याम्पस र विश्वविद्यालयका पाठ्यपुस्तक र राष्ट्रिय तथा स्थानीय दैनिक, साप्ताहिक, पाक्षिक, मासिक पत्रपत्रिका उपलब्ध गराइएको छ ।
पुस्तकालयले विसं २०७९ मा देशकै नमूना सामुदायिक पुस्तकालयका रुपमा शिक्षा, विज्ञान प्रविधि मन्त्रालयबाट सम्मानित भएको थियो । पुस्तकालयको दीर्घकालीन व्यवस्थापनका लागि रु १८ लाखको अक्षयकोष स्थापना गरिएको अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।
त्यस आसपासको क्षेत्रमा पठन संस्कृतिको विकासका लागि पुस्तकालयबाट योगदान मिलेको लेखनाथ पत्रकार मञ्चका अध्यक्ष एवं पुस्तकालयका सदस्य विष्णुहरि पौडेल बताउनुहुन्छ ।




