वासिङ्टन, भदौ १५ गते । इरानले सोमबार जोर्डनस्थित अमेरिकी सैन्य अखडालाई लक्षित गरी क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ । आफ्नो भूमिमा एक महिनापछि भएको पहिलो अमेरिकी आक्रमणको जवाफमा गरिएको यो कारबाहीले छ महिनादेखि जारी अमेरिका–इरान युद्धमा पुनः तनाव बढाएको छ ।
इरानको शक्तिशाली रिभोलुसनरी गाड्र्स (आइआरजीसी) ले जोर्डनमा रहेका दुई अमेरिकी हवाई अखडामा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरी ठूलो क्षति पु¥याएको दाबी गरेको छ । तर जोर्डनको सेनाले आठवटा क्षेप्यास्त्रलाई बाटोमै निष्क्रिय पारेको जनाएको छ ।
अमेरिकाले आइतबार होर्मुज जलसन्धिमा रहेको एउटा सानो टापुमा इरानी रकेट प्रक्षेपण केन्द्रलाई लक्षित गरी आक्रमण गरेको थियो । अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का अनुसार जलसन्धिमा तत्काल खतरा उत्पन्न गरिरहेका इरानी रिभोलुसनरी गाड्र्सका समुद्री बारुदी सुरुङ बिछ्याउने फौजविरुद्ध सीमित र सटीक कारबाही गरिएको हो ।
अमेरिकी सेनाका अनुसार जलसन्धिको अन्तरराष्ट्रिय जलमार्गबाट समुद्री बारुदी सुरुङ हटाउने काम गत साता पूरा गरिएको थियो । वासिङ्टनले इरानलाई थप बारुदी सुरुङ बिछ्याउनबाट रोक्ने उद्देश्यले पछिल्लो कारबाही गरेको जनाएको छ ।
इरानी गाड्र्सले अमेरिकी आक्रमणमा क्षति भएको र जोर्डनस्थित अमेरिकी सैन्य अखडामाथिको आक्रमण त्यसैको जवाफ भएको जनाएको छ ।
अमेरिका–इरान युद्ध छ महिना पुगेको र पछिल्ला दिनमा शत्रुतापूर्ण गतिविधि केही मत्थर भएको अवस्थामा पछिल्लो घटनाक्रम भएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले हालैका सातामा इरानविरुद्ध सैन्य कारबाहीभन्दा आर्थिक दबाबलाई प्राथमिकता दिँदै आएको छ ।
यसैबीच, पाकिस्तान र कतारलगायतका मध्यस्थकर्ताले युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास जारी राखेका छन् । अप्रिलमा युद्धविराम भए पनि त्यसयता स्थायी शान्ति सम्झौता हुन सकेको छैन ।
होर्मुज जलसन्धिमा जारी अवरोधका कारण विश्व बजारमा ऊर्जा आपूर्तिमा असर परेको छ । अमेरिकी आक्रमणको खबरपछि अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्दै ब्रेन्ट तेल प्रतिब्यारेल ९० डलर र वेस्ट टेक्सास इन्टरमिडियट ८५ डलरभन्दा माथि पुगेको छ ।
यस युद्धप्रति अमेरिकी जनतामा असन्तुष्टि बढिरहेका बेला आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनले राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टीलाई चुनौती दिन सक्ने विश्लेषण गरिएको छ । सिनेटर ज्याक रीडले छ महिनाको युद्धपछि पनि कुनै उद्देश्य हासिल नभएको भन्दै ट्रम्प प्रशासनको आलोचना गर्नुभएको छ ।




