काठमाडौँ, भदौ १४ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरबीच भेटवार्ता भएको छ । रास्वापाको पार्टी कार्यालय बनस्थलीमा आज भएको उक्त भेटवार्तामा उहाँहरुबीच भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनःस्थापनाका काम कारबाही सम्बन्धमा छलफल भएको सभापति लामिछानेको सचिवालयले जनाएको छ ।
सो अवसरमा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र सङ्घीय सरकारलाई जोड्ने भूमिका प्रदेश सरकारले खेल्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँले यति बेला सबै सरकारले समन्वय गरेर काम गर्नुपर्छ भन्ने कुरामा आफूहरु सचेत रहेको उल्लेख गर्नुभयो ।
सभापति लामिछानेले सङ्घीय सरकारका तर्फबाट आवश्यक सम्पूर्ण सहयोगका लागि समन्वय गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । यसैगरी मुख्यमन्त्री थापाले विपद्को उद्धार र राहतमा तीन तहका सरकारबीच प्रभावकारी समन्वय हुन नसकेको गुनासो गर्दै प्रदेश सरकारले आफ्नै तरिकाले काम गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएकामा दुःख व्यक्त गर्दै तीन तहमा कसले के काम गर्ने हो त्यो छुट्याउन आवश्यक रहेकामा जोड दिनुभयो ।
प्रभावित क्षेत्रमा उचित राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको मुख्यमन्त्री थापाको भनाइ थियो । साथै उहाँले परिवर्तनको असर लामो भएकाले खोला किनारका बस्तीहरु स्थानान्तरण गर्न तीन तहका सरकारले तत्कालै समन्वयकारी ढङ्गबाट काम गर्नुपर्ने बताउनुभयो ।




