रसुवा, भदौ १४ गते । रसुवाको भोटेकोशीमा पुनः बाढी आएको छ । ल्हेन्दे खोला हुँदै भोटेकोशीमा पुनः बाढी आएको रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुपप्रसाद अधिकारीले जानकारी दिनुभएको हो।
सहायक प्रजिअ अधिकारीले बाढीका कारण मानवीय तथा भौतिक क्षतिबाट जोगिन तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन अनुरोध गर्नुभएको छ ।
यसअघि भदौ १० गते बुधबार बिहान ल्हेन्दे खोला हुँदै भोटेकोशीमा आएको अकल्पनीय भीषण बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका विभिन्न क्षेत्रमा ठूलो मानवीय र भौतिक क्षति भएको थियो । भोटेकोशीमा आएको बाढीले रसुवाको टिमेर, स्याप्रुवेशी, त्रिशुली बजार सखाप पारेको थियो ।




