काठमाडौँ, भदौ १ गते । संसद्मा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम आगामी भदौ १० गते हुने तय भएको छ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको मिति यहि भदौ १० गते बुधबारका लागि तय भएको जानकारी दिनुभएको हो ।

सभामुख अर्यालले भन्नुभयो, ‘प्रतिनिधि सभा नियमावली २०८३ को परिच्छेद नौ बमोजिमको प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम २०८३ भदौ १० गतेको बैठकमा हुने गरि निर्धारण गरिएको बेहोरा जानकारी गराउँदछु । साथै प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तिमा एक जना माननीय सदस्य हुने गरी बढीमा १५ वटा प्रश्न सोध्न सकिने बेहोरा जानकारी गराउँदछु।’
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि भदौ ५ गते शुक्रबार दिउँसो १ बजे प्रतिनिधिसभाका सचिवलाई लिखित रूपमा आफ्नो प्रश्न बुझाउन सांसदलाई भनिएको छ । प्रतिनिधिसभा नियमावलीको दफा ५६ मा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरको व्यवस्था छ ।

प्रतिनिधिसभा नियमावली अनुसार, हरेक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्नुपर्ने व्यवस्था छ । विपक्षी दलका सांसदले त्यही व्यवस्थाअनुसार, प्रधानमन्त्री शाह संसदमा उपस्थित हुनुपर्ने माग गर्दै आएका थिए । विपक्षी दलको विरोधपछि आज सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले संसद्मा उपस्थित हुन प्रधानमन्त्री शाहलाई रुलिङ गर्नुभएको थियो ।