काठमाडौँ, भदौ १ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले नेपालबाट मानव बेचबिखनका घटना रोकिनुको साटो यसको स्वरुप झन् विस्तार हुँदै गएको भनी सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिदै उहाँले मानव बेचबिखनजस्तो अमानवीय र राष्ट्रिय लज्जाको विषयलाई सरकारले तत्कालै सम्बोधन गर्नुपर्ने बताउनुभयो ।
सचेतक परियारले विभिन्न प्रतिवेदनअनुसार प्रत्येक वर्ष १५ हजारभन्दा बढी नेपाली महिला, बालबालिका र युवा बेचबिखनका साथै आधुनिक दासताको शिकार भइरहेकाले यसतर्फ सरकार गम्भीर हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हिजोसम्म भारतका कोठीमा सीमित यो अपराध, आज वैदेशिक रोजगारी, अध्ययन भिसा र सामाजिक सञ्जालको दुरुपयोग गर्दै खाडी, अफ्रिका र एसियाका साइबर स्क्याम सेन्टरसम्म फैलिएको छ । यो अपराधको स्वरूप परिवर्तन हाम्रो सुरक्षा प्रणालीका लागि ठूलो चुनौती पनि हो ।”
सचेतक परियारले गरिबी, बेरोजगारी, आवश्यक सूचनाको कमी, खुला सिमाना, फितलो अनुगमन, दलालको बदलिँदो शैली र पहुँचका आधारमा अपराधीलाई संरक्षण दिने प्रवृत्तिका कारण यो समस्यामा कमी आउन नसकेको पनि उल्लेख गर्नुभयो ।
उहाँले त्यस खाले अपराधको नियन्त्रणका लागि सिमानामा कडाइ, पीडितलाई छिटो न्याय र क्षतिपूर्ति, दलाललाई कानुनी कारबाही, सम्बद्ध देशमा कूटनीतिक पहल र श्रम गन्तव्य मुलुकसँग सम्झौता गरी उद्धार संयन्त्रलाई बलियो बनाउनुपर्ने सुझाव दिनुभयो ।
स्वदेशमै मर्यादित रोजगारी सिर्जना गर्ने र उद्धार गरिएका पीडितको दीर्घकालीन पुनःस्थापना गर्ने कार्य उक्त अपराध नियन्त्रणको दिगो समाधानको उपाय हुनसक्ने उहाँको सुझाव थियो ।




