विराटनगर, साउन २७ गते । सत्ता गठबन्धन परिवर्तन भएपछि नेपाली काङ्ग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको छ । एमाले मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारमा सहभागी हुँदै आएका नेपाली काङ्ग्रेसका मन्त्रीहरुले आज मुख्यमन्त्रीसमक्ष सामूहिक राजीनामा दिएर सरकारबाट बहिर्गमन भएका हुन् ।
केही दिन पहिले देशका दुई ठूला बामपन्थी दल नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच सबै प्रदेशमा सहकार्य गरेर जाने विषयमा शीर्ष नेताहरुबीच तीन बुँदे सहमति भएपछि काङ्ग्रेस कोशी र कर्णाली प्रदेश सरकारबाट बाहिरिंदै प्रतिपक्षमा पुगेको छ ।
कोशी प्रदेश सरकारमा एमालेको नेतृत्वमा काङग्रेसबाट सरकारमा मन्त्री बन्नुभएका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीपकुमार सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी र भौतिक विकासराज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिएर पद त्याग्नु भएको छ ।
उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइलका अनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का बीच पछिल्लो समयमा भएको तीनबुँदे सहमतिअनुसार नेपाली काङग्रेस सरकारबाट बाहिरिन उचित ठानेकाले सामूहिक रुपमा राजीनामा दिएको बताउनुभयो ।
अब कोशी प्रदेश सरकारमा नेकपा (एमाले) कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वकै सरकारमा नेकपा सहभागी हुने भएको छ ।




