काठमाडौँ, साउन १४ गते । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्दै गुणस्तरीय सार्वजनिक सेवा प्रवाह, समयमा कार्यक्रम सम्पन्न गर्ने संस्कृतिको विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।
आज मन्त्रालयमा आयोजित गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक समीक्षा एवं मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (एमड्याक) को बैठकलाई सम्बोधन गर्दै मन्त्री बादीले परिणाममा आधारित कार्यसम्पादनलाई मन्त्रालयको प्रमुख प्राथमिकता बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले समीक्षा बैठकबाट प्राप्त सुझाव तथा निष्कर्षलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै मन्त्रालयको समग्र कार्यसम्पादनलाई थप सुदृढ, परिणाममुखी र नागरिकमैत्री बनाइने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री बादीले मन्त्रालयका सबै निकायले सुशासन, पारदर्शिता, जवाफदेहिता तथा प्रभावकारी सेवा प्रवाहलाई केन्द्रमा राखी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । उहाँले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा सामाजिक सुरक्षा योजनाका लाभग्राहीले प्रत्यक्ष अनुभूति गर्नेगरी नीति तथा कार्यक्रम कार्यान्वयन गर्न निर्देशन दिनुभयो ।
बैठकमा आर्थिक वर्षभरि मन्त्रालय तथा मातहतका निकायबाट सञ्चालित नीति, कार्यक्रम, बजेट कार्यान्वयन, वित्तीय तथा भौतिक प्रगति, सेवा प्रवाह, संस्थागत सुधार तथा समग्र कार्यसम्पादनको विस्तृत समीक्षा गरिएको थियो ।




