मकवानपुर, साउन १४ गते । जिल्ला प्रशासन कार्यालय, मकवानपुरले सामाजिक सद्भाव कायम राख्न सबैमा आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले आज एक अपिल जारी गर्दै यस्तो आग्रह गर्नुभएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी जोशीले सुनसरी जिल्लामा दुई समुदायबीच भएको झडपको घटना र सो पश्चात् विभिन्न जिल्लाहरूमा भइरहेको झडप तथा प्रदर्शन समेतलाई दृष्टिगत गर्दै त्यस्ता अप्रिय घटनाहरू हुन नदिन जिल्लाभित्र फरक–फरक धार्मिक तथा सांस्कृतिक आस्थामा विश्वास गर्ने समुदायबीच धार्मिक सहिष्णुता एवं सामाजिक सद्भाव कायम गर्न सबैमा आग्रह गर्नुभएको छ ।

आ–आफ्नो धार्मिक तथा सांस्कृतिक आस्था अनुसार मठ मन्दिर, मस्जिद, गुम्बा लगायतका धार्मिक स्थलहरूमा धार्मिक क्रियाकलाप सञ्चालन गर्दा अन्य समुदायलाई असर पर्ने गरी ठूलो आवाजमा लाउडस्पिकर, माइक तथा साउण्ड बक्सहरू नबजाउन समेत प्रशासनले सबैमा आग्रह गरेको छ ।