काठमाडौँ, साउन २ गते । मुलुकको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले आगामी मङ्सिर पहिलो साता यहाँ ‘अन्तरराष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ हुने भएको छ । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने नारासहित कृषि, वन तथा पर्यावरण मन्त्रालय, कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकरण प्रवद्र्धन केन्द्र र नेपाल कृषि मेशिनरी व्यवसायी सङ्घको संयुक्त आयोजनामा मङ्सिर ४, ५ र ६ गते भृकुटीमण्डपमा प्रदर्शनी आयोजना हुने सङ्घकी उपाध्यक्ष सुनिता नेमाफुकिले राससलाई जानकारी दिनुभयो ।
यसअघि सरकारसँगको समन्वयमा पाँच वटा राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी सङ्घले आयोजना गरिसकेको छ । प्रदर्शनीमा एक सयभन्दा बढी राष्ट्रिय तथा अन्तरराष्ट्रिय प्रदर्शनीकर्ताको सहभागिता रहनेछ । प्रदर्शनीमा दुई सयभन्दा बढी आधुनिक कृषि औजार, उपकरण, यन्त्र तथा नवीनतम प्रविधि समावेश गरिने जानकारी उपाध्यक्ष नेमाफुकिले दिनुभयो ।
प्रदर्शनीमा सहभागी हुन राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रका प्रतिष्ठित उत्पादक तथा विक्रेताको सहभागिता सुनिश्चित भइसकेको छ । किसान, उद्यमी तथा सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारी खेती, आधुनिक सिँचाइ प्रणाली, पोस्ट–हार्भेस्ट प्रविधि, कृषि उपज प्रशोधन तथा बजारीकरणसँग सम्बन्धित अत्याधुनिक यन्त्र–उपकरणका साथै उन्नत बीउबिजनसमेत प्रदर्शन गरिने जनाइएको छ ।




