तेहरान, साउन २ गते । इरानले अमेरिकी आक्रमणको प्रत्युत्तरस्वरूप कुवेत र जोर्डनस्थित अमेरिकी सैन्य लक्ष्यहरूमा प्रहार गरेको दाबी गरेको छ । इरानी सरकारी टेलिभिजनले शनिबार प्रसारण गरेको सैन्य विज्ञप्तिमा यस्तो उल्लेख गरिएको हो ।
विज्ञप्तिअनुसार कुवेतको अल–अदिरी शिविरस्थित गोलाबारुद भण्डारण केन्द्र, अली अल–सलेम सैन्य आधारका मुख्यालय भवन, गोलाबारुद डिपो तथा सञ्चार पूर्वाधारलाई निशाना बनाइएको दाबी गरिएको छ ।
त्यसैगरी, जोर्डनको अल–अज्राक सैन्य आधारमा रहेका इन्धन भण्डारण ट्याङ्कीहरूलाई पनि आक्रमण गरिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
यसैबीच, कुवेती सेनाले आफ्नो हवाई प्रतिरक्षा प्रणालीले शत्रुतापूर्ण लक्ष्यहरूलाई अवरोध गर्ने क्रममा विस्फोटका आवाज सुनिएको जनाएको छ ।
बहराइनको गृह मन्त्रालयले पनि शनिबार हवाई आक्रमणको चेतावनीस्वरूप साइरन बजाइएको पुष्टि गरेको छ । बहराइनमा अमेरिकी नौसेनाको प्रमुख पाँचौँ बेडा तैनाथ छ ।




