काठमाडौँ, असार ३२ गते । सङ्घीय संसद्को दुवै सदनका चालु अधिवेशनका बैठकहरू दुई साताका लागि स्थगन भएपछि जनतासँगको सम्पर्क र संवाद बढाउन सांसदहरूको आ–आफ्नै तयारी सुरू भएको छ । चालु आर्थिक वर्षको अन्त्यसँगै दुवै सदनको बैठक दुई साताका लागि स्थगन भएका छन् ।
प्रतिनिधिसभाको बैठक आगामी साउन १४ र राष्ट्रियसभाको बैठक साउन १५ गतेका लागि तोकिएको छ । यसलाई सांसदहरूले संसदीय चापको कामबाट संसदीय विश्रामका रूपमा लिँदै जनसम्बन्ध विस्तारमा उपयोग गर्ने अवसरका रूपमा लिनुभएको छ । सांसदमार्फत सङ्कलित जनताका विषयहरू पुनःसंसद्को आवाज र सरकारको जवाफदेहीताको विषय बन्ने संसदीय अभ्यास नै हो ।
संसदीय विश्राम अवधि सुरु हुनुअघि बुधबारको प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संसद् र जनताबीचको सम्बन्ध जति सुदृढ हुन्छ, लोकतन्त्र त्यति नै उत्तरदायी, सहभागितामूलक र विश्वासयोग्य बन्ने बताउनु भए झैँ सासदहरूले जनसंवादलाई गाढा तुल्याउन भरमग्दुर कोसिस गर्ने बताउनुभएको छ ।
“जनप्रतिनिधि जनता र संसद्बीच विश्वास, संवाद तथा उत्तरदायित्व जोड्ने लोकतान्त्रिक सेतु पनि हुन् । जनताका आवाज, आकाङ्क्षा र अपेक्षालाई संसद्को निर्णय प्रक्रियासम्म पु¥याउने र संसद्का निर्णयलाई पुनःजनतामाझ स्थापित गर्ने दुईतर्फी दायित्व नै जनप्रतिनिधित्वको सार हो”, सभामुख अर्यालले भन्नुभएको थियो, “जनताबीच निरन्तर पुग्नु, जनतासँग संवाद गर्नु र जनमतलाई संसदीय प्रक्रियामा प्रतिबिम्वित गर्नु प्रत्येक माननीय सदस्यको आधारभूत संसदीय जिम्मेवारी हो ।”
गत असार २८ गतेदेखि संसद्को चालु बजेट अधिवेशन सुरू भएसँगै सांसदहरू सरकारका नीति तथा कार्यक्रम, बजेट र यससँग सम्बन्धित विधेयक तथा यसबीचमा जारी भएका अध्यादेशलाई पारित गर्नेलगायत काममा व्यस्त हुनुभयो । बजेट आश्रित विधेयक दुवै सदनबाट पारित भएपछि संसदीय ‘बिजनेस’ कम भएको छ । सरकारले आगामी आर्थिक वर्षका विभिन्न मन्त्रालयसँग सम्बन्धित १६६ विधेयक सदनमा पेस गर्ने घोषणा गरेकाले त्यसबारे सांसदहरूले आफ्नो तयारी गर्नुपर्ने देखिएको छ । ती विधेयकबारे पनि सांसदहरूले आ–आफ्ना जिल्ला र क्षेत्रमा पुगेर जनताका राय सल्लाह लिने अवसर मिलेको ठानिएको छ ।
सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक प्रकाशचन्द्र परियारले रासससँग कुरा गर्दै संसद्को बैठक नबस्ने यस अवधिमा जनतासँगको सम्पर्क, संवाद र अन्तरक्रियालाई बढाउँदै पार्टीका काममा पनि सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।
“यसबीचमा पार्टीको नेतृत्वको सरकारबाट के के राम्रा काम भए रु थप राम्रो गर्न के के सुझाव हुन सक्छन् रु फर्केर आएर जनताका ती सुझाव र आवाजलाई संसद र सरकारसँग कसरी प्रभावकारी रूपमा लैजान सकिन्छ भन्नेमा हाम्रो ध्यान हुनेछ”, सचेतक परियारले भन्नुभयो, “जनतादेखि संसद्, संसद्देखि सकार र संसद् तथा सरकारदेखि जनतासम्मको यो चक्रलाई हामीले निरन्तर कसिलो बनाउनुपर्छ ।”
सरकारले आगामी आर्थिक वर्षलाई ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा गरेका सन्दर्भमा त्यस सम्बन्धमा पनि जनताका सुझाव आफूहरूले लिने सचेतक परियारको भनाइ छ ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरूङले गत फागुन २१ गतेको चुनावपछि जिल्ला जान नपाइएका अवस्थामा दुई साताको बैठक स्थगन हुनुले अब जिल्लातिर गएर जनताका समस्या बुझ्ने र सक्दो सहजीकरण गर्ने बताउनुभयो । विपद् जोखिमको अवस्थाबारे सचेत गराउने र जनतामा परेका समस्यामा सक्दो सहजीकरण गर्ने तयारी रहेको उहाँले बताउनुभयो ।
प्रतिनिधिसभामा नेकपा ९एमाले० का संसदीय दलका उपनेता पद्माकुमारी अर्यालले संसद् बैठक नहुने अवधिमा आफूहरू जिल्ला जिल्लामा जाने र सम्भावित प्राकृतिक विपद् तथा आपत्मा कसरी स्रोत उपलब्ध तथा उद्धार कार्य आदिमा सहजीकरण गर्न सकिन्छ भन्नेमा केन्द्रित हुने बताउनुभयो । उहाँले आफूहरूले अब हुने हिउँदे अधिवेशनको तयारी र सरकारले ल्याउने विधेयकका सम्बन्धमा पनि जनताका रायसुझाव लिने प्रतिक्रिया दिनुभयो ।
राष्ट्रियसभामा नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का सांसद झक्कुप्रसाद सुवेदीले दुई साता बैठक स्थगन हुनुमा आफूहरूको चाहना नभई सरकाले पर्याप्त काम दिन नसक्नु नै कारण रहेको टिप्पणी गर्नुभयो । उहाँले संसदीय विश्रामका अवधिमा सङ्घीय संसद् सचिवालयले साउनको पहिलो साता राष्ट्रियसभाका सदस्यका लागि अभिमुखीकरण तयारी गरेकाले त्यसमा केन्द्रित हुने बताउँदै सरकारले अब ल्याउने विधेयक र आफूहरूले ल्याउने गैरसरकारी विधेयकको प्रस्तुति तथा छलफललाई संसद् र समितिमा कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर आफूहरुले विमर्शमा रहने बताउनुभयो ।
सांसद सुवेदीले नजिकका जिल्लामा हुनेहरु जिल्लामा जानसक्ने र टाढाका सदस्यहरु जनतासँग यो वा त्यो रुपमा सम्पर्कमा रहने तथा पार्टीका काममा पनि लाग्ने तयारीमा रहेको जानकारी दिनुभयो ।
श्रम संस्कृति पार्टीका महासचिव एवं सचेतक आरेन राईले संसद्का बैठक स्थगन भएका अवधिमा नागरिकसँग भेटघाट बढाउने र पार्टीका काममा लाग्ने तयारीमा आफू रहेको बताउनुभयो ।




