काठमाडौँ, असार ३२ गते । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको स्वास्थ्य अधिकार, सेवा पहुँच तथा आवश्यक नीतिगत सुधारका विषयमा छलफल भएको छ । मायाको पहिचान नेपाल, समावेशी मञ्च र लिड नेपालका प्रतिनिधिमण्डलले मन्त्री मेहतासँग भेट गरी समुदायले स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती, हर्मोन थेरापी, लिङ्ग परिवर्तन शल्यक्रिया तथा समुदायमैत्री स्वास्थ्य सेवाको आवश्यकतालगायत विषयमा छलफल भएको हो ।
छलफलका क्रममा मन्त्री मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व भएको उल्लेख गर्दै लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका स्वास्थ्य आवश्यकता सम्बोधनका लागि आवश्यक नीतिगत तथा प्राविधिक पक्षमा मन्त्रालय सकारात्मक रहेको बताउनुभयो ।
मन्त्री मेहताले सम्बन्धित निकाय तथा सरोकारवालासँग समन्वय गरी समुदायका स्वास्थ्य अधिकार सुनिश्चित गर्न आवश्यक पहल अघि बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा मायाको पहिचान नेपालका संस्थापक सुनीलबाबु पन्तसहित समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।




