किभ, असार ३० गते । युक्रेनले रातभर भएको रुसी हवाई आक्रमणका क्रममा प्रहार गरिएका पाँच वटा ब्यालिस्टिक क्षेप्यास्त्र खसालिएको दाबी गरेको छ । युक्रेनी वायुसेनाले मङ्गलबार जनाएअनुसार केही क्षेप्यास्त्र तथा ड्रोन भने राजधानी किभमा प्रहार हुँदा त्यहाँ क्षति पुगेको छ । लगभग दुई सातायता पहिलो पटक युक्रेनले रुसी ब्यालिस्टिक क्षेप्यास्त्र अवरोध गर्न सफल भएको दाबी गरेको हो । ब्यालिस्टिक क्षेप्यास्त्र ड्रोन वा क्रुज क्षेप्यास्त्रको तुलनामा अवरोध गर्न बढी कठिन मानिन्छन् ।

युक्रेनी वायु प्रतिरक्षाले अमेरिका निर्मित ‘प्याट्रियट’ हवाई प्रतिरक्षा प्रणाली प्रयोग गरेको हुन सक्ने अनुमान गरिएको छ । ब्यालिस्टिक क्षेप्यास्त्र रोक्न यो प्रणाली प्रभावकारी मानिए पनि इरानसँगको युद्धका कारण यसका अवरोधक क्षेप्यास्त्रको आपूर्तिमा कमी आएको बताइएको छ ।

किभका मेयर भिटाली क्लिट्स्कोका अनुसार आक्रमणबाट दुईवटा गोदाममा आगलागी भएको छ भने एउटा विद्यालयमा पनि क्षति पुगेको छ ।

रुसी रक्षा मन्त्रालयले भने किभस्थित लामो दूरीका क्षेप्यास्त्र र ड्रोन उत्पादन गर्ने सैन्य उद्योगलाई लक्षित गरी आक्रमण गरिएको दाबी गरेको छ ।

युक्रेनी वायुसेनाका अनुसार एउटा ब्यालिस्टिक क्षेप्यास्त्र र २५ वटा ड्रोन १७ स्थानमा खसेका छन् भने १० स्थानमा अवरोध गरिएका हतियारका भग्नावशेष खसेका छन् ।

जाडोयाम नजिकिँदै जाँदा युक्रेनले आफ्नो हवाई प्रतिरक्षा क्षमता थप सुदृढ बनाउने प्रयास गरिरहेको छ । सन् २०२२ मा रुसले आक्रमण सुरु गरेयता ऊर्जा पूर्वाधारमाथि बारम्बार हुने क्षेप्यास्त्र आक्रमणले युक्रेनको विद्युत् प्रणालीमा ठूलो क्षति पुगेको छ ।

यसैक्रममा, युक्रेनसहित नौ देशले युरोपका लागि साझा ब्यालिस्टिक क्षेप्यास्त्र प्रतिरक्षा प्रणाली निर्माण गर्ने पहलमा सहभागी भएका छन् । राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आगामी १२ महिनाभित्र साझेदार राष्ट्रहरूसँग मिलेर कम लागतको हवाइ प्रतिरक्षा प्रणाली विकास गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।

उता, युक्रेनले रुसी तेल पूर्वाधारमाथि पनि लामो दूरीका आक्रमणलाई निरन्तरता दिएको छ । स्थानीय अधिकारीका अनुसार दक्षिणी रुसको क्रास्नोडार क्षेत्रमा रहेको अफिप्स्की तेल प्रशोधन केन्द्रमा आक्रमणपछि आगलागी भएको थियो, जसलाई पछि नियन्त्रणमा लिइएको छ ।

रुसी रक्षा मन्त्रालयले भने रातभर विभिन्न रुसी क्षेत्र, कब्जामा रहेको क्रिमिया तथा अजोभ र कालो सागर क्षेत्रमाथि प्रहार गरिएका २८८ युक्रेनी ड्रोन खसालिएको दाबी गरेको छ ।