दाङ, असार २६ गते । दाङकी एक ३६ वर्षकी महिलालाई आफ्नै श्रीमान्ले अनेकौँ आरोप लगाइ रातिको समयमा कुटपिट गरे । सामान्य विवाद हुँदा पनि श्रीमान्ले मादकपदार्थ सेवन गरी उनलाई कुटपिट गर्दथे । अरु समयमा भन्दा बढी कुटपिट गरी घाइते बनाएपछि छिमेकीको सहारामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा उहाँ जानुभयो ।

छिमेकीले त्यहाँ नपुराएको भए के हुन्थ्यो भन्न सकिने अवस्था नरहेको उहाँ बताउनुहुन्छ । तीन महिनाको उपचारपछि उहाँँ पूर्णरुपमा निको हुनुभएको छ । त्यहाँस्थित अस्पतालका स्वास्थ्यकर्मीले उपचारको साथमा मनोपरामर्श दिएपछि आफूले पुनःजीवन पाएको उनीले बताइन् ।

लमही नगरपालिकाकी एक महिला बलात्कारको शिकार हुनुभयो । उहाँ पनि ओसिएमसीमा सेवा लिएर अहिले घरमा जानु भएको छ । औषधि उपचार खर्च सबै निःशुल्क पाएपछि उहाँले त्यहाँको सेवा राम्रो लागेको बताउनुभयो । स्वास्थ्यकर्मीले गर्ने बोली व्यवहारले पनि पीडा बिर्साउन सहयोग गरेको उहाँँको भनाइ छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा हिंसापीडित महिलाको लागि बरदान बनेको छ । उक्त केन्द्रले गएको एक वर्षमा २२३ जना हिंसा प्रभावितलाई सेवा उपलब्ध गराएको छ । ओसिएमसीले चालु आर्थिक वर्ष २०८२÷८३ मा हिंसा प्रभावित २२३ जनालाई उपचार, मनोसामाजिक सेवा, कानुनीलगायत एकीकृत सेवा प्रदान गरिएको ओसिएमसी दाङका सम्पर्क व्यक्ति मीना डिसीले जानकारी दिनुभयो ।

त्यसमध्ये २२१ महिला र दुई पुरुष छन् । ओसिएमसीले एक वर्षमा बलात्कारमा परेका ५७ जना, यौन दुव्र्यवहारमा परेका २१ जना, शारीरिक दुव्र्यवहारमा परेका ८९ जना, मानसिक दुव्र्यवहारमा परेका ३७ जना र अन्य १९ जनालाई सेवा दिएको जनाएको छ ।