जेनेभा, असार २६ गते । सन् २०२५ जनवरीभन्दा पछि विदेशी सहायता खर्चमा भएको ठूलो कटौतीका कारण कम्तीमा एक करोड महिला र बालिकाहरूले अत्यावश्यक मानवीय सहायतामा पहुँच गुमाएका संयुक्त राष्ट्रसङ्घले शुक्रबार चेतावनी दिएको छ । एउटा नयाँ रिपोर्टमा युन वुमेनले आवश्यकता बढिरहेको बेला महिला सङ्गठनहरू खारेज भएकोमा दुख व्यक्त गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष पदभार ग्रहण गरेपछि विदेशी सहायतामा कटौती गर्नुभएको छ भने अन्य प्रमुख दाता देशहरूले पनि आफ्नो खर्च घटाएका छन् ।
“संसारका सबैभन्दा गम्भीर मानवीय सङ्कटहरूको अग्रपंक्तिमा रहेका महिला सङ्गठनहरू बन्द हुने जोखिममा छन्,” युन वुमेनकी मानवीय सहायता प्रमुख सोफिया काल्टोर्पले एक विज्ञप्तिमा भन्नुभएको छ ।
उहाँले भन्नुभयो, “महिला सङ्गठनहरूबाट हटाइएको प्रत्येक डलर भनेको द्वन्द्वसम्बन्धी यौनिक हिंसाका पीडित, विस्थापित आमा, विद्यालयबाट बाहिरिन बाध्य बालिका र बाँच्न सङ्घर्ष गरिरहेका समुदायहरूबाट हटाइएको डलर हो।”
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वभर सशस्त्र द्वन्द्वहरू दोस्रो विश्वयुद्ध यताकै उच्च स्तरमा रहेको यो समयमा करिब १२ करोड महिला र बालिकाहरूलाई मानवीय सहायता र संरक्षणको आवश्यकता छ ।
सङ्कटग्रस्त विभिन्न ५२ वटा देशहरूका ८५५ महिला नेतृत्वका तथा महिला अधिकार सङ्गठनहरूबाट प्राप्त जवाफहरूमा आधारित यो रिपोर्टले देखाएको छ कि ८४ प्रतिशत समूहले सन् २०२५ जनवरी यता आफ्ना सेवाहरूको माग बढेको अनुभव गरेका छन् ।
“लगभग ९० प्रतिशतले उनीले हालको आवश्यकता पूरा गर्न नसक्ने बताउँछन्,” एजेन्सीले भनेको छ, “ सर्वेक्षण गरिएका मध्ये दुईमा एक ९४० प्रतिशत० सङ्गठनले आगामी एक वर्षभित्र अस्थायी वा स्थायी रूपमा बन्द हुने अपेक्षा गरेका छन् ।”
यी सङ्गठनहरूलाई जोगाउनका लागि नेतृत्व र कर्मचारीहरूले आफ्नै श्रम र स्वास्थ्यको मूल्य चुकाइरहेका छन् ।
पूर्ण ६५ प्रतिशत महिला नेतृत्वका सङ्गठनहरूले सेवाहरू सञ्चालन गर्न कर्मचारी बिना तलब काम गरिरहेको रिपोर्ट गरेका छन् भने लगभग आधाले कर्मचारीहरूमा बढ्दो थकान रिपोर्ट गरेका छन् ।
युन वुमेनको विज्ञप्तिमा भनिएको छ, “सन् २०२५ मा पीडितहरूलाई संरक्षण गर्ने प्रणाली भत्किरहेको बेला द्वन्द्वसम्बन्धी यौनिक हिंसा दोब्बर बढेको छ।”
झण्डै ८६ प्रतिशत महिला सङ्गठनहरूले आफूले सेवा गरिरहेका समुदायमा लैङ्गिक हिंसा बढेको रिपोर्ट गरेका बताइएको छ ।
यो सङ्गठनले सहायता कटौतीले विनाशकारी परिणाम ल्याइरहेकोमा जोड दिएको छ ।
“हिंसाबाट आश्रय खोजिरहेको महिला बन्द भएको आश्रय केन्द्रको ढोकामा पुग्न सक्छिन्स गर्भवती महिलालाई स्वास्थ्य क्लिनिक पुग्न घण्टौं हिँड्नुपर्ने हुन सक्छस वा आमाले आफ्ना बच्चाहरूलाई खाना दिन अस्वीकार गर्नुपर्ने हुन सक्छ,” सङ्गठनले भनेको छ ।
यी कटौतीहरूको प्रभाव केवल मानवीय प्रतिक्रियालाई कमजोर पार्नेमा मात्र सीमित नहुने सङ्गठनले जोड दिएको छ ।
“महिला सङ्गठनहरूको विघटन कुनै खाली ठाउँमा होइन, बरु महिला र बालिकाहरूको अधिकारमाथि विश्वव्यापी प्रतिक्रियावादको बिरुद्धमा भइरहेको छ,” यसले भनेको छ ।
हरेक पाँचमा एक (२० प्रतिशत) सङ्गठनहरूले महिला नेतृत्व र लैङ्गिक समानता अघि बढाउने काम पहिले नै स्थगित गरेका छन् भने आधाभन्दा बढीले समुदायको नेतृत्व र स्थानीय निर्णय प्रक्रियामा महिलाहरूको सहभागिता घट्दै गएको देखेको सङ्गठनको दावी छ ।




