कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी ।
काठमाडौँ, असार १४ गते । कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरी थाइल्याण्डको ब्याङ्कक प्रस्थान गर्नुभएको छ । ब्याङकक भोलिदेखि हुन लागेको वातावरण तथा दिगो विकाससम्बन्धी उच्चस्तरीय सम्मेलनमा सहभागी हुन मन्त्री चौधरी त्यसतर्फ प्रस्थान गर्नुभएको हो।
भोलिदेखि सुरुहुने पाँचदिने सम्मेलनका क्रममा ‘पेरिस सम्झौता र दिगो विकासका लागि २०३० कार्यसूचीबीचको समन्वय सुदृढीकरणसम्बन्धी सातौँ विश्वसम्मेलनको उच्चस्तरीय सत्र’ मन्त्री चौधरी सहभागी हुनुहुने कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
ब्याङ्कक सम्मेलनमा जलवायु परिवर्तनका असर घटाउने, पेरिस सम्झौता कार्यान्वयनका साथै दिगो विकास लक्ष्यसँगको सहकार्यलाई मजबुत बनाउने विषयमा छलफल हुने छ । मन्त्री चौधरी ‘वातावरण तथा विकास समितिको नवौँ मन्त्रीस्तरीय अधिवेशन’समेत सहभागी हुने मन्त्रालयले जनाएको छ ।
सम्मेलनमा मन्त्री चौधरीले सम्बोधन गर्दै जलवायु परिवर्तनका असर, हिमाली मुलुकका चुनौती, वातावरण संरक्षणका लागि गरिएका प्रयास, दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा नेपालले गरेका प्रगतिबारे विश्व समुदायलाई जानकारी गराउनुहुनेछ ।




