काठमाडौँ, असार १४ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका लागि प्रत्यक्ष कार्यकारी निर्वाचित उपयुक्त नहुने बताउनुभएको छ । जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आज आइतबार काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन प्रणाली मुलुकका लागि उपयुक्त नभएको बताउनुभएको हो ।

संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने गरेको प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्तावप्रति लक्षित गर्दै उहाँले नेपालजस्तो बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतायुक्त मुलुकमा यस्तो प्रणाली सान्दर्भिक नहुने तर्क गर्नुभयो ।

संविधान संशोधनको विषय उठान गर्दै पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी हाम्रो देशको लागि उपयुक्त हुँदैन भन्ने मेरो निष्कर्ष छ । संविधान संशोधनको सन्दर्भमा बेलाबेलामा उठ्ने प्रत्यक्ष कार्यकारी शासन प्रणालीको प्रस्ताव हाम्रो जस्तो बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुकका लागि उपयुक्त हुन सक्दैन भन्ने मेरो विचार छ। हामी आवधिक निर्वाचन मार्फत जनमत प्राप्त गर्ने लोकतान्त्रिक प्रणालीमा विश्वास गर्छौं, तर जनादेश प्राप्त गरिसकेपछि पनि लोकतान्त्रिक मूल्य, संवैधानिक मर्यादा, विधिको शासन र जनउत्तरदायित्वलाई निरन्तर पालना गर्नु नै सच्चा लोकतान्त्रिक आचरण हो।’