काठमाडौँ, जेठ २४ गते । परराष्ट्रमन्त्री शिशिर खनाल भारतको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्कनुभएको छ । भारतका विदेशमन्त्री डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा भारतको तीन दिने भ्रमणमा जानुभएका परराष्ट्रमन्त्री खनाल आज स्वदेश फर्कनुभएको हो ।

भ्रमणका क्रममा मन्त्री खनालले शनिबार आफ्ना भारतीय समकक्षीसँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्नुभएको थियो । वार्तामा विकास सहकार्य, सम्पर्क सञ्जाल विस्तार, व्यापार तथा पारवहन, ऊर्जा र जनस्तरको  सम्बन्धलाई अझ उन्नत तुल्याउनेलगायत विषयमा छलफल भएको थियो ।

नयाँदिल्लीमा रहँदा परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल तथा भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा विजय चौथाइवालेसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो ।