नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदी
नेपालमा पछिल्लो समय बीमाको बजार विस्तार हुँदै गएको छ । सहरबजार केन्द्रीय बीमा व्यवसाय पछिल्लो समय दूरदराजसम्म पुग्न थालेको छ । मुलुकमा आइपर्ने प्राकृतिक विपद् र आकस्मिक रुपमा घट्ने घटनाहरुबाट हुन सक्ने मानवीय र भौतिक सम्पत्तिहरुको सुरक्षाका लागि बीमा सहयोगी बन्दै आएको छ । नेपालमा २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि जीवन बीमा र भौतिक सम्पत्तिको बीमा गर्नुपर्ने रहेछ भन्ने चेतनाको विकासले दूरदराजसम्म बीमाको दायरा फराकिलो बन्दै गएको छ । यसैसन्दर्भमा नेपालमा बीमा व्यवसाय, यसको आवश्यकता र पहुँचका साथै बीमा कम्पनीहरुको नियमनका विषयहरुलाई केन्द्रविन्दुमा राखेर नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीसँग नवसञ्चार अनलाइने गरेको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ

नेपालमा बीमाको अवस्था कस्तो छ ?
सबैभन्दा पहिला आम नागरिकले बीमा के हो, किन बीमा गर्नुपर्छ भनेर बीमाको बारेमा बुझ्न जरुरी छ । त्यसका लागि बीमाका प्राविधिक पक्षहरु बुझ्न जरुरी छ, बीमा कसरी गर्ने, कस्तो पोलिसी लिन उचित हुन्छ, बीमा दावी कसरी गर्ने भन्ने बारेमा बुझ्न आवश्यक छ । बीमाको बारेमा बुझिसकेका नागरिकहरुले उत्सुक भएर बीमा गरिरहनुभएको छ । बीमाको बारेमा सामान्य सुनेका र यस बारेमा खासै नबुझेका नागरिकहरुलाई बीमा गर्न गाह्रो हुनसक्छ । त्यसकारण बीमा गर्न चाहने मानिसले बीमाको बारेमा कत्तिको बुझ्नु भएको छ, परिस्थिति र वातावरणले कत्तिको बीमा गर्न बाध्य बनाएको छ त्यसमा भरपर्दछ । यद्यपि, पछिल्लो समय जीवन बीमा र निर्जीवन बीमाको दायरा फराकिलो बन्दै गएको छ ।

नेपालमा पछिल्लो दशकमा प्राकृतिक प्रकोप र आन्दोलनको चपेटामा भौतिक र मानवीय क्षति धेरै भए, यस्तो परिवेशमा बीमाको आवश्यकता कत्तिको महसुस हुन्छ ?

जीवन बीमा भनेको मानिसको बीमा हो, जस्को जीवनको मूल्य हुँदैन । यति रूपैयाँको जीवन भन्ने हुँदैन । त्यसकारणले मानिसले इच्छा गरे अनुसारको बीमाङ्क राखेर बीमा गर्ने प्रचलन पनि छ । यसैगरी निर्जीवन बीमा भनेको धन सम्पत्ति अर्थात भौतिक सम्पत्तिको क्षति व्यहोर्ने बीमा हो । भौतिक सम्पत्तिको मूल्याङ्कनको आधारमा बीमा गर्न सकिन्छ । निर्जीवन बीमामा सम्पत्तिको जति मूल्याङ्कन गरिएको हुन्छ, त्यो मूल्याङ्कन बराबरको बीमा गर्नुपर्ने हुन्छ । यद्यपि समाजमा न्यून मूल्य राखेर बीमा गर्ने चलन पनि छ जुन गलत हो । तर मूल्य मूल्याङ्कन कायम गरेपछि मूल्याङ्कन अनुसारको बीमा गर्ने व्यवस्थालाई हामीले प्रमोट गरिराखेका छौँ ।

यसरी जीवन र निर्जीवनको बीमा गर्ने पद्धति हुन्छ । जीवन बीमामा पनि औषधि उपचारको बीमामा चाहि फेरी निर्जीवन बीमामा जस्तै क्षतिपूर्र्तिको सिद्धान्त लागु हुन्छ । जीवन बीमालाई र निर्जीवन बीमालाई यसको प्रकार र यसको व्यवसाय नै भिन्न भएको हुनाले यो फरक किसिमको बीमा हो भनेर ऐनमा नै व्याख्या गरिएको छ । लाइसेन्स प्राप्त कम्पनी पनि फरक छन्, व्यवसायको प्रकृति पनि फरक छ तिनलाई गर्ने नियमन पनि फरक छ । किनकी त्यसले मार्केटमा सहि रिजल्ट दिन सकोस् र धेरै मानिसहरूले बीमा गर्न सकुन् भन्ने उद्देश्यले नियमनलाई जोड दिएका छौँ ।

एक दशक अघि २०७२ बैशाखमा गएर विनाशकारी भूकम्प र २०८२ साल भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबाट राज्यले ठूलो भौतिक क्षति ब्यहोर्नु पर्यो । यसलाई बीमाले कति भरण गर्‍यो ?

त्यसबेला अर्थात् २०७२ सालको भुइँचालोमा बीमा कम्पनीले १७ अर्ब रुपैयाँ हाराहारीको दाबी भुक्तानी गरे । अहिले त्यसको दश वर्षपछि गत भदौमा जुन जेनजी आन्दोलन भयो त्यसबाट झण्डै २३ अर्ब रुपैयाँ बराबरको बीमा दावी गरिएकोमा १५ अर्ब रुपैयाँ जति दाबी योग्य छन् भन्ने हाम्रो ठम्याइ छ । कम्पनीहरुले अहिले छ, सात अर्ब रूपैयाँ भुक्तानी गरिसकेको अवस्था देखिन्छ । यो दश वर्षको तुलना गर्ने हो भने हिजो र आजको नेपाली समाज, नेपालको अर्थतन्त्र, मानिसहरूको बिमा गर्ने प्रवृत्ति र यो प्रतिको चेतनामा आकाश पातलको फरक छ । धेरै मानिसहरू स्वतः स्फूर्त बीमा गर्ने हुनुभएको छ । बीमाको बारेमा कुरा बुझ्नुभएको छ । हिजो त्यो पूरै भुक्तानी गर्नका लागि हामीलाई वर्षौँ लाग्याथ्यो भने अहिले लगभग आधिसरो अर्थात् ३०/४० प्रतिशत भुक्तानी छोटो समयमा भएको छ । पहिला केही समय लाग्थ्यो भने अहिले एकदम छिटो भुक्तानी भएको छ । यसरी हेर्दा अहिले बीमा क्षेत्रको क्षमतामा पनि वृद्धि भएको छ र बीमाप्रति मानिसको विश्वास पनि बढेको छ । भवितव्य घटनाहरुबाट हुने क्षतिपूर्ति बहन गर्न अन्य क्षेत्रहरूबाट पनि त्यसप्रकारको बीमा गर्ने क्रममा वृद्धि भएको छ ।
सायद बीमाले अर्थतन्त्रका विभिन्न क्षेत्रमा बहु–आयामिक भूमिका निर्वाह गरेको हो कि अथवा जसमा सुरक्षा प्रदान गर्ने, गर्छ भनेर मानिसलाई चेतना भएर हो कि जस्तो लाग्छ । समग्रमा भन्दा बीमाप्रतिको विश्वास बढेको छ र बीमा क्षेत्रको क्षमता पनि बढेको छ ।

यो एक दशकको अवधिमा समग्र बीमा क्षेत्रको वृद्धिको अनुपात कस्तो रहेको पाउनुभएको छ ?

हरेक वर्ष बीमा व्यवसाय कम्तिमा पनि सामान्यतया २०र२५ प्रतिशतले बढ्दोक्रममा छ । नेपालमा अहिले भएका सेवा क्षेत्रहरूमध्ये सबैभन्दा छिटो वृद्धि हुने व्यवसायमा बीमा पनि पर्छ । त्यसकारण यसको वृद्धिमा त शङ्का नै रहने । अब वृद्धि हुने भनेको दुई वटा कुराले हुन्छ । पहिलो, मानिसको विश्वास भएर यो क्षेत्रले हामीलाई राम्रो सेवा दिइरहेको छ भन्ने हिसाबले वृद्धि भएको छ भने दोस्रो कुरा भनेको अर्थतन्त्रको माग पनि हो ।

नागरिकहरुलाई अब बीमा नगरिकन सम्पत्ति र दायित्वको सुरक्षा गर्न सकिंदैन भन्ने चेतनाको विकासले पनि बीमाको दायरा फराकिलो बन्दै गएको छ । यसको अर्थ के पनि हो भने बीमा क्षेत्र थप भरपर्दो, विश्वसनीय र ग्राहकमैत्री बन्दै गइरहेको छ भन्ने कुरा हामीले आम जनतालाई सजिलैसँग भन्न सक्छौँ ।

बीमा अझै शहर केन्द्रीत छ, दूर दराजसम्म बीमा पहुँच कहिले पुग्ने भन्ने पनि बेलाबखत प्रश्न उठ्ने गरेको छ, तपाई के भन्नुहुन्छ ?

हिजोको दिन चाहि यहाँले भन्नुभएको कुरा धेरै हदसम्म सत्य हो । किनभने बीमा कम्पनीहरूको विस्तार सहरी क्षेत्रमा मात्र भएको र ग्रामीण क्षेत्रमा नभएको जस्तो देखिन्थ्यो । तर आज बीमा कम्पनीहरू लगभग सबैजसो पालिका पुगेका छन् । बीमाको पहुँच नपुगेका केही ठाउँमा पनि छिटै सेवा विस्तार हुँदैछ । अझ रोचक कुरा के छ भने एकदमै सहर केन्द्रित, धेरै सहरी र सम्पन्न क्षेत्र भएका प्रदेशभन्दा कम विकसित भएको प्रदेशहरूमा बीमाको वृद्धिदर एकदमै बढी, राम्रो छ । उहाँहरुले बढी बीमा गरिरहनुभएको छ । म के पनि भन्न चाहन्छु भने ठूला बीमा कम्पनीहरुले मात्रै गरेर सफल भएन अर्थात बीमाको पहुँच दूरदराजमा, सीमान्तकृत वर्गमा नपुग्ला भनेर माइक्रो इन्स्योरेन्स लघुबीमा कम्पनी पनि स्थापना गरिएको छ । तिनीहरू तत्तत् क्षेत्रमा गएर सेवा दिइरहेका छन् । त्यसैले बीमा कम्पनीहरू ग्रामीण क्षेत्र अथवा अझै पिछडिएको वर्गमा जाने, त्यहाँ पुग्ने, उनीहरुलाई सेवा दिने र आफ्नो बीमाको प्रचार–प्रसार गर्ने र उनीहरुलाई बीमामा निर्भर तुल्याउने काम तीव्र गतिमा भइरहेको छ । यदि यही गतिमा हुने हो भने आगामी पाँच/सात वर्षमा बीमा क्षेत्रले ठूलो फड्को मार्छ भन्ने मलाई लाग्छ ।

नेपालमा जे जति बीमा कम्पनीहरु छन् उनीहरुलाई नियमन गर्ने निकाय भनेको बीमा प्राधिकरण हो, अहिले जीवन र निर्जीवन दुवै बीमाको पोर्टफोलियो कस्तो छ ?

बीमा कम्पनीको अहिलेको समग्र पोर्टफोलियो भनेको आठ खर्ब रुपैयाँभन्दा बढि छ । बीमा क्षेत्रमा पैसा कसरी लगानी गर्ने, कुन कुन क्षेत्रमा पैसा लगानी गर्ने, त्यसको कति प्रतिशत लगानी गर्न पाउने भन्ने सीमा बीमा प्राधिकरणले लगानी निर्देशिकामा निर्धारण गरेको छ । त्यो लगानी निर्देशिकाले उल्लेख गरेको सीमाभन्दा पनि नाघ्नेगरी लगानी गर्न पनि पाइँदैन । लगानी निर्देशिकाले न्यूनतम यति लगानी गर्नुपर्छ भनेको छ भने त्यो भन्दा कम हुने गरी लगानी गर्न पनि पाईंदैन । प्राधिकरणको लगानी निर्देशनमार्फत् बीमा कम्पनीहरूलाई रेगुलेट गर्छौँ र उहाँहरुले सहि ठाउँमा, सहि तरिकाले, सहि सीमा भित्र लगानी गर्नुभएको छ कि छैन हेर्छौं । यदि कम्पनीहरुले प्राधिकरणको निर्देशिका मुताविक काम गरेनन् भने त्यस्ता कम्पनीलाई कारवाहीको दायरामा ल्याउँछौँ । बीमा भनेको बीमामा आर्जन अथवा जम्मा भएको पैसा बीमितहरूको पैसा हो । यो नेपाली जनताले दुःख गरेर कमाएको पैसा, बीमा गरेर जम्मा भएको पैसा हो । त्यसकारण सुरक्षा गर्नु भनेको प्राधिकरणको प्राथमिक दायित्व पनि हो । त्यसैले यसमा प्राधिकरण अत्यन्त सजग छ र अहिलेसम्म हामीले सुरक्षित र बढी प्रतिफल आउने क्षेत्रमा लगानी गर्नका लागि कम्पनीलाई नीतिगत व्यवस्था गरेका छौँ र त्यसमा हामीले प्रोत्साहन पनि गरिरहेका छौँ ।

धेरै कमिशनको लोभमा बीमा अभिकर्ताहरुले प्रलोभन देखाएर बीमा गराउने र पछि बीमा भुक्तानी लिंदा भनेअनुसारको रकम नपाएको भन्ने जनगुनासाहरु पनि सुनिन्छ नि ?

यहाँले भन्नुभएको जस्तो बीमा गरिसकेपछि पैसा दिन समस्या खडा गर्ने, विवाद उत्पन्न हुने, भनेको बेला पैसा नपाउने, समयमा दावी व्यवस्थापन भुक्तानी नगरिदिने जस्ता समस्याहरु नभएका होइनन् । कुनै पनि उद्योग अथवा कुनै पनि क्षेत्रमा एउटा कालखण्डमा त्यस्तो हुँदैन भन्ने होइन । जतिखेरसम्म मार्केट र इण्डस्ट्रिजबीच पूरा विश्वासको वातावरण बनिसकेको हुँदैन, राम्रा र पर्याप्त दक्ष जनशक्ति तयार भएको हुँदैनन् त्यो बेलामा यस्ता समस्याहरु देखिन्छन् । विस्तारै यो समयक्रममा सुध्रिंदै जाने विषय हो । बीस बर्ष अगाडी जस्तो समस्या थियो, त्यो समस्या भुइँचलोको बेलामा रहेन । भुइँचलोको बेलामा जुन समस्या थियो त्यो अहिले जेनजी आन्दोलनको बेलामा रहेन । अहिले त डोर टु डोर जस्तो छिटो सर्भिस दिइएको अवस्था छ । त्यसकारण अहिले बीमा कम्पनीहरुको क्षमतामा धेरै सुधार भएको छ, व्यवस्थित बन्दै गएको छ ।
अब अहिलेको कुरा गर्नुहुन्छ भने अहिले जुन रफ्तारमा, जुन गतिमा बीमा क्षेत्रले प्रगति गरिरहेको छ र सर्भिसको डेलिभरी प्रवाह गरिरहेको छ । यो गति कायम रहने हो भने यहाँले उठाउनुभएको गुनासाहरु एकदमै न्यून हुने गरी छिटै नै व्यवस्थापन गर्न सक्छौँ ।

बीमा कम्पनीहरुले जीवन र निर्जीवन बीमामा सङ्कलन गरेको रकम कुन क्षेत्रमा लगानी गरेका छन् ? यसको सुरक्षा के हो ?

हाम्रो नीतिले पहिलो प्राथमिकता भनेको बिमितको पैसालाई सुरक्षित राख्नुपर्छ भन्छौँ, अनि बल्ल प्रतिफलको कुरा गर्छौँ । हाइ प्रतिफल त हुनुपर्छ तर पहिला सुरक्षित क्षेत्रमा हुनुपर्छ । त्यसैले सबैभन्दा बढी सुरक्षित क्षेत्र भनेको बैंकिङ सेक्टर हो, जहाँ राष्ट्र बैंकले रेगुलेट गर्दछ । त्यसैले सबैभन्दा बढी पैसा बैंकिङ क्षेत्रमा छ । त्यसपछि बाँकी रहेको पूर्वाधारमा छ, कम्पनीहरुले शेयरमा लगानी गरेका छन् । अन्य नागरिक लगानी कोष, सञ्चय कोषजस्ता संस्थाहरुले ल्याएको विभिन्न फण्डहरुमा लगानी हुन्छ ।

यसैगरी सरकारले ल्याउने ट्रेजरी बिल तथा सरकारी बण्डमा गरिने लगानी बीमा कम्पनीहरुको प्रतिफलको आधार न्यून छ । बाँकी एकदम उच्च प्रतिफल प्राप्त हुने सुरक्षित क्षेत्रमा बीमाको लगानी छ । त्यसैले जतापायो उतै लगानी गर्ने अवस्था हुँदैन । पैसा नउठ्ला कि अथवा हराउला कि भन्ने चिन्ता चाहिँ यो बीमा क्षेत्रमा छैन । त्यसैले बीमा क्षेत्र एकदमै सुरक्षित छ ।

नेपालमा दुई वटा पुनर्बीमा कम्पनीहरु छन्, ति कम्पनीहरुले कतिसम्म सङ्कलन गर्न पाउने अधिकार छ रु छ भने यी कम्पनीले जीवन बीमा र निर्जीवन बीमाको सबै रकम सुरक्षण गर्न सक्ने अवस्था के छ ?

व्यवसाय गर्न सक्षम कुनै पनि कम्पनीलाई व्यवसाय गर्ने सीमा तोकिएको हुँदैन । बीमा कम्पनी, पुनर्बीमा कम्पनी कसैलाई पनि सीमा तोकिएको हुँदैन । उनीहरुले जति पनि व्यवसाय गर्न सक्छन् । तर आफुले गरेको व्यवसायको पर्याप्त मात्रामा पुनर्बीमाको व्यवस्था गरेको हुनुपर्‍यो । पर्याप्त मात्रामा त्यसको सर्विस डेलिवरीको ग्यारेन्टी हुनुपर्‍यो । त्यति भयो भने बीमा कम्पनीले, पुनर्बीमा कम्पनीले आफ्नो व्यवसाय गर्न सक्छन् । बीमाङ्क रकम कुनै आर्थिक वर्ष धेरै हुन्छ । कुनै वर्ष थोरै हुन्छ । उनीले आफ्नो क्षमता अनुसार प्रिमियम वापत रकम सङ्कलन गरिरहेका हुन्छन् । त्यो सङ्कलित रकम ट्रेजरीमा जम्मा हुन्छ र त्यसपछि त्यो पैसालाई कम्पनीहरुले दावी व्यवस्थापन, कर्मचारी खर्च, कार्यलय सञ्चालन गर्न र बाँकी पैसाहरु लगानीका रुपमा उपयोग गर्ने परम्परागत चलन छ ।

नेपालका पुनर्बीमा कम्पनीहरुले बीमा कम्पनीहरुको रकमलाई पूर्णरुपमा स्वीकार गर्न र सुरक्षणको प्रत्याभूति दिन सक्दैनन् र बिमितहरुको प्रिमियम रकम बाहिर देशमा पनि पुनर्बीमाको नामबाट जान्छ भनिन्छ नि, कत्तिको सत्यता छ यस्मा ?

पुनर्बीमाको प्रिमियम बापतको रकम बाहिरी मुलुकमा पुनर्बीमाकै लागि गएको हुन्छ । यो त बीमा प्रणालीको चक्रीय पद्धति हो । अन्य देशहरुबाट हाम्रा पुनर्बीमा कम्पनीमा पनि पुनः पुनर्बीमा गर्छन् । यो बीमाको अन्तरराष्ट्रिय पद्धति नै हो । यो किन गरिन्छ त भने बीमाको सुरक्षाका लागि गरिन्छ । त्यसैले बीमाको रकम पुनर्बीमाको नामबाट बाहिर जान्छ ।

बैंक भनेको यहीको सेरोफेरोमा चल्छ, यही सङ्कलन हुन्छ, यही लगानी हुन्छ, चलिरहन्छ । तर बीमा कम्पनीमा यस्तो सम्भव हुँदैन । मानौं एउटा साढे दुई अर्ब पुँजी भएको निर्जीवन बीमा कम्पनीले ५० अर्बको प्रोजेक्टको बीमा गर्छ, एक खर्बको गर्ला । अब त्यो प्रोजेक्ट कोल्याप्स भयो भने साढे दुई अर्बले त तिरेर पुग्दैन, त्यसैले उसले नेपालका पुनर्बीमा कम्पनीहरुसँग पुनर्बीमा गर्छ । नेपालका दुईवटै पुनर्बीमा कम्पनीको पनि क्षमता दशरदश अर्ब गरी बीस अर्ब रुपैयाँको छ । भोलि कुनै भवितव्य ठूलो घटना भयो रे मानौं, त्यस्तो बेला ती कम्पनी टाट नै पल्टेलान, तिर्न नसक्लान रे, त्यसैले अर्को पुनर्बीमामा पुनःबीमा हुन्छ । बिमितले तिर्ने प्रिमियमको सुरक्षा गर्न पुनर्बीमा कम्पनीहरुले बाह्य देशका पुनर्बीमा कम्पनीहरुसँग पनि बीमा गर्ने गर्दछन् । त्यो बाहिर पठाएको पैसा होइन, त्यो त बिमितको रकमलाई सुरक्षित गरिएको हो । संसारका सबै बीमा कम्पनीहरु एक अर्कासँग जोडिएका हुन्छन् ।

नेपालको सन्दर्भमा कुरा गर्ने हो भने २०७२ साल बैशाखको भूकम्प र २०८२ साल भदौमा भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिलाई पुनर्भरण गर्न नेपालका बीमा कम्पनीहरुले नसक्ने अवस्था हुनसक्थ्यो । तर बाह्य मुलुकका बीमा कम्पनीहरुसँग गरिएको बीमाका कारण हाम्रा कुनै पनि कम्पनीहरु टाट पल्टिने अवस्था आएन । २०७२ सालको भूकम्पमा बीमा दावि गरिएको १७ अर्ब रुपैयाँ भुक्तानी गरियो । यसमध्ये ८०/९० प्रतिशत विदेशी बीमा कम्पनीहरुबाट पैसा आयो । हामीले तिरेको मात्र देख्छौं, आएको देख्दैनौं । यदि विदेशमा पुनर्बीमा नगरेको भए सबै नेपाली बीमा कम्पनीहरु ‘कोल्याप्स’ हुन्थे । कसैले पनि बीमा वापतको रकम भुक्तानी पाउँदैनथे । स्थिति भयावह हुन्थ्यो । त्यसैले यो बीमा व्यवसायको चक्र हो ।

पहिले पुनर्बीमाको लागि ५५ प्रतिशतभन्दा धेरै रकम बाहिर जान्थ्यो भने अहिले नेपालमै व्यवस्थापन हुन थालेपछि १५र२० प्रतिशतसम्म पुनर्बीमाको लागि बाहिर जान्छ र बाहिरका बीमा कम्पनीहरुले नेपालमा पनि पुनर्बीमा गर्न थालेका छन् । कृषि, पशुपंक्षी तथा मोटरहरुको बीमाङ्क रकम नेपालमै बस्छ भने हवाई जहाजहरुको ९९ प्रतिशत बीमाङ्क रकम विदेशी पुनर्बीमा कम्पनीहरुमा जान्छ । हामी यतिभन्न सक्छौं कि नेपालको बीमा व्यवसाय सक्षम हुँदै गएको छ ।