काठमाडौँ, जेठ ९ गते । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जननेता मदन भण्डारीले स्थापित गरेको वैचारिक आधार नेपाली राजनीतिक इतिहासमा अमूल्य सम्पत्ति भएको स्मरण गर्नुभएको छ । आज शनिबार काठमाडौँमा आयोजित ‘मिडियामा मदन भण्डारी’ पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले मदनको खुला राजनीतिक जीवन अपेक्षाकृत छोटो रहे पनि वैचारिक प्रभाव र राजनीतिक योगदान दीर्घकालीन रहेको भन्दै प्रशंसा गर्नुभएको हो ।
भण्डारीले भन्नुभयो, ‘लोकतन्त्रप्रतिको आस्था, राजनीतिक नैतिकता, सार्वजनिक उत्तरदायित्व र जवाफदेहिता, सुशासन, सामाजिक न्याय तथा राष्ट्रिय एकताका प्रश्नहरू पुनः राष्ट्रिय बहसका प्रमुख विषय बनेका छन् । यस्तो अवस्थामा जननेता मदन भण्डारीका विचारहरूको गम्भीर अध्ययन, व्यापक बहस तथा समयानुकूल तिनको थप विकास र प्रयोग गर्नु पनि युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ ।’
पुस्तक विमर्श तथा युवा बहस कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले पुस्तक नेपालको लोकतान्त्रिक तथा वामपन्थी आन्दोलनको विकासक्रम, वैचारिक रूपान्तरण र राजनीतिक यात्रा समेटिएको बताउनुभयो ।





