बागमती, जेठ ९ गते । हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना.५९ प ३३४५ नम्बरको स्कुटरलाई आज ठक्कर दिँदा स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भीर घाइते योञ्जनलाई उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पतालमा ल्याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो । स्कुटरलाई ठक्कर दिने बस र बस चालक काभ्रेको चाँैरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईंलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
भिरबाट लडेर दुई बालक घाइते
मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१२ भोर्लेस्थित जङ्गलको भिरबाट लडेर दुई बालक घाइते भएका छन् ।
जङ्गलको बाटो हुँदै आज बिहान ११ बजेतिर भोर्लेबाट रमनटारतर्फ जाँदै गरेको साइकल आफैँ अनियन्त्रित भई भिरबाट करिब ३५ मिटर तल खसेर स्थानीय १२ वर्षीय साजन पाख्रिन र १२ वर्षीय रोणित थापा मगर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिनुभयो ।
घाइते दुबै बालकलाई उद्धार गरी उपचारका लागि हेटौँडास्थित सिएमसी चुरेहिल अस्पताल पठाइएको प्रहरी नायब उपरीक्षक बोगटीले बताउनुभयो ।





