ललितपुर, वैशाख २६ गते । बेलायतमा बसोबास गर्दै आउनुभएकी स्रष्टा शान्ति लिम्बूद्वारा रचित कविता सङ्ग्रह ‘थेम्सको लहरमा तमोरको स्पर्श’ विमोचन गरिएको छ । ओयाम सरोकार समाज, काठमाडौँद्वारा आज यहाँ आयोजित कार्यक्रममा साहित्यकार एवम् लेखक खगेन्द्र सङ्ग्रौलालगायतले कृति विमोचन गर्नुभयो । त्यस अवसरमा सङ्ग्रौलाले उक्त कृतिमा देश छोड्नु पर्ने विवशता, प्रवासी जीवनका विषय, मानव जीवनको जरा, नारी चेतनाका बिषय समेटिएको बताउनुभयो ।
चलचित्र निर्देशक एवम् कवि नविन लिम्बुले उक्त कृतिमा याक्थुम चेतना, समग्रता, सम्पूर्णता, सहअस्तित्व रहेको उल्लेख गर्दै महिलावादको विषय पनि रहेको भनाइ राख्नुभयो । कवि बिमला तुम्खेवा विश्वव्यापी लेखकीय संरचनामा महिलाहरुको बिषयलाई प्रमुख बनाइने गरेको भन्दै सुन्दर समाज निर्माणका निम्ति सुधारका पक्षमा कविताले समस्या उजागर गरेको उल्लेख गर्नुभयो ।
कृतिको समीक्षा गर्ने क्रममा गुरुङ सुशान्तले उक्त कविता सङ्ग्रह स्मृति, भाषा संस्कृति र चेतनाको वैचारिक दस्तावेज भएको बताउनुभयो । नेपाली मानव सभ्यता र सांस्कृतिक अस्तित्वको सङ्कटलाई पुस्तकमा चित्रण गरिएको उहाँको भनाइ थियो ।
कवि शान्ति लिम्बूले निरन्तर अगाडि बढ्नु जीवनको एउटा पाटो भएको उल्लेख गर्दै मनमा आएका धेरै भावना र कुराहरूलाई समेटेर कविता कृति तयार पारेको बताउनुभयो । रत्नपुस्तक भण्डारले प्रकाशन गरेको उक्त कृतिमा स्त्री, प्रकृति, देश र परदेशका विषयवस्तु र भावलाई प्रस्तुत गरिएको छ ।





