काठमाडौँ, वैशाख २६ गते । राष्ट्रपति रामचन्द्र पौडेलले विधिद्वारा स्थापित पद्धति र परम्परा पालना हुनुपर्नेमा जोड दिनुभएको छ । कानुन दिवस, २०८३ का अवसरमा आज सर्वोच्च अदालतले यहाँ आयोजना गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले कानुन दोषीका लागि भय र निर्दोषका लागि आशा, भरोसा र सहारा हुनुपर्ने बताउनुभएको हो ।

“सुशासन, अमन, शान्ति, समृद्धि र मर्यादाका लागि विधि र स्थिति औजार र उपचार दुवै हुन् भनेर सम्झने र बुझ्ने पुनित दिनलाई नै कानुन दिवसका रुपमा मनाइन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “कानुन दिवसको यही मर्मलाई आत्मसात् गर्नसकेमात्र आत्मनिर्भर र समृद्ध नेपालको कल्पना गर्न सकिन्छ ।”

राष्ट्रपति पौडेलले नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यताप्रति प्रतिबद्ध प्रणालीको व्यवस्था गरेको उल्लेख गर्नुभयो । 

साथै, उहाँले नेपालको संविधानको मर्म एवं वर्तमान आवश्यकताअनुरुप नयाँ कानुनको निर्माण र प्रचलित कानुनमा समसामयिक सुधार गरी आधुनिक पद्धति र प्रविधि समेतको प्रयोगबाट आमनागरिकको न्यायमा सहज पहुँच स्थापित गर्ने, मुद्दाको शीघ्र व्यवस्थापनमार्फत छिटोछरितो न्याय सम्पादन गर्ने गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “विधिको शासन कायम गर्ने तथा न्यायिक मूल्यमान्यतामा क्षयीकरण हुन नदिइ न्यायपालिकाको जनआस्था अभिवृद्धि गर्ने सुनिश्चतताका लागि कानुन दिवसले सबैमा सकारात्मक सोच, हौसला र प्रेरणा प्रदान गर्न सकोस् ।”
कार्यक्रममा कामु प्रधानन्यायाधीश सपनाप्रधान मल्लले कुनै पनि डर र प्रभावमा नपरी न्यायसम्पादन गर्न सम्पूर्ण न्यायाधीशलाई आग्रह गर्नुभयो । उहाँले आफूले न्यायका लागि लामो समयदेखि लड्दै आएको स्मरण गर्दै अझै न्यायको लडाईं बाँकी रहेको बताउनुभयो ।

संविधानको इमान्दारपूर्वक कार्यान्वयन गर्ने, विधिको शासनको पालना गर्ने र पालना गर्न कहीँ चुकेमा समीक्षा गर्ने दिन पनि कानुन दिवस नै भएकाले आत्मसमीक्षा गर्नुपर्ने धारणा राख्नुभयो ।

त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संवैधानिक आयोगका प्रमुखहरु, कूटनीतिक नियोग तथा उच्चपदस्थ अधिकारीहरूको सहभागिता थियो ।

नेपालको प्रधानन्यायालय ऐन, २००८ विसं २००९ वैशाख २६ गतेदेखि लागू भएको दिनको सम्झनामा प्रत्येक वर्ष वैशाख २६ को दिनलाई कानुन दिवसका रुपमा मनाइँदै आएको छ ।