सिड्नी, वैशाख २० गते । अस्ट्रेलियाको दक्षिणपश्चिम सिड्नीस्थित एक घरमा भएको आक्रमणमा तीन जनाको मृत्यु भएको छ भने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार आइतबार बिहान करिब १:३० बजे सिड्नीको केन्द्रीय भागबाट करिब ४५ किलोमिटर दक्षिणपश्चिममा रहेको रोजमेडो क्षेत्रमा एक घरमा आक्रमण भएको जानकारी पाएपछि आपतकालीन सेवाहरू घटनास्थलमा पुगेका थिए ।
घटनास्थलमा पुगेका प्रहरी अधिकारीहरूले करिब ६० वर्षकी एक महिला र करिब २० वर्षका एक पुरुषलाई मृत अवस्थामा फेला पारेका थिए । साथै, गम्भीर टाउको चोट लागेको ६४ वर्षीय पुरुषलाई तुरुन्तै अस्पताल लगिएको थियो, तर उपचारका क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान अनुसार यी तीनै जना व्यक्तिहरूलाई उनीहरू चिन्ने एकै व्यक्तिले आक्रमण गरेको बताइएको छ ।
त्यसै क्रममा बिहान करिब २:३० बजे उक्त घरमा आएको एक सवारीसाधनका ३२ वर्षीय पुरुष चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ र उनलाई नजिकैको प्रहरी चौकीमा लगिएको छ ।
घटनापछि सो घरलाई अपराध स्थल घोषणा गरिएको छ र स्थानीय प्रहरीले हत्या अनुसन्धान टोलीको सहयोगमा विस्तृत अनुसन्धान सुरु गरेको छ ।





