काठमाडौँ, वैशाख १७ गते । बदलिँदो परिस्थितिमा मुलुकको हवाई सुरक्षालाई आधुनिकीकरण गर्ने उपायको खोजी गर्ने उद्देश्यले पर्यटन मन्त्रालयले विज्ञहरूसँग छलफल गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज पुल्चोक क्याम्पसको ‘मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङ’ विभागमा आयोजना गरेको एकदिने कार्यशालामा सुरक्षाको दृष्टिले महत्वपूर्ण पाटोका रूपमा रहेको ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस’ विषयमा वायुसेवा कम्पनी तथा अन्य सरोकार भएका निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।
कार्यशालामा नेपालको पहिलो ‘फ्लाइट डेटा मनिटरिङ’ ९एफडिएम०सम्बन्धी ‘फ्लाइट डाटा मोनिटरिङ एण्ड एनालाइसिस इम्प्लिमेन्टेसन फर फ्लाइट सेफ्टी’ विषयमा विज्ञहरूले प्रस्तुति दिनुभएको थियो । पर्यटन मन्त्रालयका सचिव मुकुन्दाप्रसाद निरौलाले उद्घाटन गर्नुभएको उक्त कार्यक्रममा मन्त्रालयका सहसचिव मुकेश डङ्गोलले कार्यक्रमको उद्देश्य बारेमा सहभागीलाई जानकारी गराउनुभयो । उक्त कार्यक्रममा हवाई उडानका तथ्याङ्कको विश्लेषण गरी भविष्यमा हुनसक्ने दुर्घटना न्यूनीकरण गर्न र तथ्याङ्कमा आधारित सुरक्षा प्रणाली लागू गर्न विशेष जोड दिइएको थियो ।
पुल्चोक क्याम्पसको डिपार्टमेन्ट अफ मेकानिकल एण्ड एरोस्पेस इन्जिनियरिङका विभागीय प्रमुख डा सुदीप भट्टराईको प्राविधिक नेतृत्व र हिमालय एयरलाइन्सको व्यवहारिक अनुभव समेटिएको कार्यशालाले प्राज्ञिक ज्ञान र हवाई उद्योगबीचको सम्बन्धलाई सुदृढ बनाएको मन्त्रालयले जनाएको छ । हिमालय एयरलाइन्सको तर्फबाट उडान जोखिम पहिचान र अन्तरराष्ट्रिय मापदण्डका सफल अभ्यास प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा विज्ञ सहजकर्ताका रूपमा सहजीकरण गर्नुभएका डा भट्टराईले हवाई सुरक्षाको दृष्टिकोणबाट महत्वपूर्ण रहेको फलाइट डाटा मनिटरिङ एनालाइसिस र यसको महत्वको बारेमा जानकारी गराउँदै कार्यान्वयनमा भइरहेका समस्या र समाधानका उपायका बारेमा आवश्यक जानकारी दिनुभयो ।
सहभागी वायुसेवा कम्पनीका प्रतिनिधिले आ-आफनो संस्थामा एफडिएम कार्यान्वयनको अवस्थाको बारेमा जानकारी दिनुभएको थियो । उक्त कार्यक्रमले एफडिएमको प्रभावकारी कार्यान्वयनमा जोड दिनुका साथै नेपालको हवाई क्षेत्रलाई अन्तरराष्ट्रियस्तरमा पुर्याउन नियामक निकाय र सञ्चालकका लागि एक स्पष्ट रणनीतिक मार्गचित्रसमेत तयार गर्न सहयोग पुगेको मन्त्रालयको नागरिक उड्डयन महाशाखाले जनाएको छ ।
कार्यक्रममा नेपाली वायुसेवा कम्पनीबाट हवाई सुरक्षासँग सम्बन्धित कर्मचारी, नियामक निकाय, नेपाल नागरिक उड्डयन प्राधिकरणबाट सम्बन्धित क्षेत्र हेर्ने पदाधिकारी, पुल्चोक क्याम्पसको सम्बन्धित विभागका विद्यार्थी र मन्त्रालयको नागरिक उड्डयन महाशाखाका कर्मचारीलगायत व्यक्तिको उपस्थिति थियो ।





