फाइल तस्वीर

दाङ, वैशाख १७ गते । रोल्पामा जीप दुर्घटना हुँदा २० जनाको मृत्यु भएको खबर छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार रुकुम पूर्वबाट रोल्पाको थवाङ गाउँपालिकाको जलजलातर्फ जाँदै गरेको लु१ज ४१६७ नम्बरको जीप आज दिउँसो रोल्पाको थवाङ गाउँपालिका–१ सल्याप भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जीप भिरबाट करिब ८०० मिटर तलखस्दा १८ जनाको घटनास्थमै मृत्यु भएको र पछि थप दुई जनाको पनि मृतृभएको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी रुकुम पुर्वका सिस्ने गाउँपालिका-५ का ३२ वर्षीय समिर कामी घाइते हुनुभएको छ । उहाँको आधारभूत जलजला अस्पताल थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनालगत्तै रोल्पाका प्रहरी प्रमुख वीरेन्द्र विश्वकर्मा नेतृत्वको टोली घटनास्थल पुगी उद्धार कार्यमा खटिएको थियो ।  

उक्त दुर्घटनामा परेको जीपमा सवार सबै जलजलामा वैशाख पूर्णिमाको अवसरमा लाग्ने मेलामा सहभागी हुन जाने तीर्थयात्री रहेका प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो । “दुर्घटनामा परी मृत्यु भएकाहरूको सनाखत हुन सकेको छैन । दुर्घटनाबारेमा थप विवरण आउन बाँकी छ”, उहाँले भन्नुभयो ।