काठमाडौँ, वैशाख १७ गते । नेपाल उद्योग परिसङ्घ (सिएनआई) र सिएनआई कोशी प्रदेशको संयुक्त आयोजनामा राष्ट्रियस्तरको महिला नेतृत्व सम्मेलन हुने भएको छ । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र विराटनगर महानगरपालिकाको सहकार्यमा यही वैशाख २१ गते प्रदेशको राजधानी विराटनगरमा सो सम्मेलन हुने भएको हो ।
‘दिगो समृद्धितर्फः कृषि, सीप, सिर्जनशीलता र डिजिटल नवप्रवर्तन’ मुख्य विषय रहने सम्मेलनमा महिलाको नेतृत्व विकास, क्षमता अभिवृद्धि, स्थानीय कृषि तथा उद्यमशीलता प्रवर्द्धनका विषयमा छलफल हुने सिएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले जानकारी दिनुभयो । उक्त सम्मेलनमा सफल महिला उद्यमीहरूका अनुभव आदानप्रदान गर्ने तथा स्वदेशी उत्पादन प्रदर्शनी गरिने आज आयोजित पत्रकार सम्मेलनमा उहाँले बताउनुभयो ।
सम्मेलनमा महिला उद्यमीहरूको सफलताका कथा प्रस्तुति, डिजिटल नवप्रवर्तनसम्बन्धी छलफल, स्वदेशी वस्तुहरूको प्रदर्शनी तथा उद्यमी, नीति निर्माता र निजी क्षेत्रका प्रतिनिधि एवं विकास साझेदारहरूबीच छलफल हुने जनाइएको छ । परिसङ्घका अनुसार सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।





